कल्पको ‘मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गतेदेखि गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ सुरु हुँदैछ ।

उक्त प्रतियोगिताममा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका सदस्यले सहभागी हुने पाउने मिडियाले जनाएको छ ।

कल्पका अध्यक्ष सुरज श्रेष्ठले अन्य खेलाडीको हकमा भने नेपाल पत्रकार महासंघको सदस्य हुनुपर्ने जनाएका छन् ।

अन्य विधाका पत्रकार र खेल पत्रकारबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आपसी भाइचारा र पेशागत सहकार्यलाई घनीभूत बनाउन मञ्चका खेलाडीलाई सहभागिताको आव्हान गरेको श्रेष्ठले बताएका छन् ।

पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गर्नु पर्ने छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।

Scroll to Top