व्यवसायी पौडेल आबद्ध संस्थाद्वारा संयुक्तरुपमा ४१ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेल आबद्ध तीनवटा संस्थाहरुले ४१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

अटोवेज प्रालि परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द-कलावती फाउन्डेसनले संयुक्त रुपमा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

प्राकृतिक विपत्तिका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत यी संस्थाहरुले सहयोगको हात अगाडि बढाएका हुन् ।

सहयोग रकममध्ये अटोवेज प्रालि परिवार र भारतको बुल मसिन्स प्रालिले २५ लाख रुपैयाँ उपलब्ध गराएका छन् । पोखराको नादिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले ११ लाख ११ हजार १११ रुपैयाँ संकलन गरेका छन् ।

यसैगरी गोविन्द-कलावती फाउन्डेसनले ५ लाख रुपैयाँ सहयोग गरेको छ । यी सबै संस्थाहरुले भोटेकोशीको बाढीले निम्त्याएको संकटका बेला नागरिकको जीवन सहज बनाउन यो रकम खर्च गरिने बताएका छन् ।

विपद्को यस घडीमा पीडित नागरिकलाई साथ दिनु निजी क्षेत्र र सामाजिक संस्थाहरुको कर्तव्य भएको प्रतिभा माध्यमिक विद्यालयका अध्यक्ष नारायण प्रसाद पौडेलले बताए । ‘यो निकै कठिन र पीडादायी अवस्था हो, यस्तो बेला केवल सहयोग मात्र नभई हाम्रो मानवीय दायित्व पनि जोडिएको छ,’ उनले भने ।

पौडेलले निजी क्षेत्र, विभिन्न संघ संस्था र आम नागरिक एकजुट भएर प्रभावित परिवारको उद्धार र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिए । उनले देश दुखेका बेला एक अर्काको साथ दिनु नै सबैभन्दा ठूलो धर्म भएको बताए ।

संस्थाहरुले बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विस्थापित भएकाहरुलाई सुरक्षित रुपमा पुनःस्थापित गर्न सरकारसँग माग गरिएको छ ।

Scroll to Top