गण्डकी सरकारको निर्णयः मृतकका परिवारलाई १ लाख, घाइतेलाई ५० हजार

गण्डकी प्रदेश सरकारले बाढीपहिरो तथा विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद् प्रभावितका लागि विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी प्रदेश सरकारका तर्फबाट ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

त्यस्तै, बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

बाढीपहिरोमा परी घाइते भएका गण्डकी प्रदेशका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी, भदौ १० गते रसुवामा आएको बाढीमा परी मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

रसुवा बाढीमा परी घाइते तथा बिरामी भएका गण्डकी प्रदेशका नागरिक पोखरा आइपुगेपछि उनीहरूलाई घरघरमा पुर्‍याउन आवश्यक सवारीसाधनको व्यवस्था प्रदेश सरकारले गरिदिने निर्णयसमेत गरिएको छ।

Scroll to Top