शिलापत्र डटकमका प्रकाशक सम्पर्कबिहीन

रसुवा बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा सम्पर्कविहीन भएका छन् । १० भदौमा भोटेकोसी (ल्हेन्दे) नदीमा आएको विनाशकारी बाढीपछि सिम्खडासँग सम्पर्क नभएको हो ।

सिम्खडा ९ भदौमा काठमाडौंबाट तिब्बतको कैलाश मानसरोवर यात्रामा निस्किएका थिए । सोही क्रममा ९ भदौमा सिम्खडा रसुवाको टिमुरेस्थित होटल कैलाशमा बास बसेका थिए ।

सिम्खडासँगै आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडा यात्रारत थिए । उनीहरू तीनै जना १० भदौ बिहानदेखि सम्पर्कमा नआएका हुन् ।

बाढी आएको दिन बुधबार बिहान साढे ७ बजेसम्म सिम्खडाको काठमाडौंस्थित परिवार र शिलापत्रसँग सम्पर्क भएको थियो । त्यसयता उनीसँग कुनै सम्पर्क हुन सकेको छैन । सम्पर्कमा नरहेका सिम्खडाको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे सञ्चालक रहेको हिमालयन ग्लेसियर एड्भेन्चर एन्ड कम्पनीमार्फत सिम्खडा परिवारसँगै ४० विदेशी पर्यटक र सात नेपाली स्टाफसहित ४७ जना यात्रारत थिए ।

ट्रेकिङ कम्पनीले सो टोली १० भदौमा रसुवागढी क्षेत्रबाट सम्पर्कमा नआएकाले उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित उद्धारमा संलग्न पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका– ३ स्थायी घर भएका सिम्खडाको खोजीका लागि पालिकाले पनि सूचना जारी गरेको छ ।

सिम्खडासहित परिवारको खोजी तथा उद्धार गरिदिन सम्बन्धित निकायलाई शिलापत्र मिडिया नेटवर्कले विशेष आग्रह गरेको छ ।

Scroll to Top