प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कास्कीस्थित वडा प्रहरी कार्यालय रामबजारको नवनिर्मित भवनको समुद्घाटन गरेका छन् । बुधबार एक कार्यक्रमका बीच उनले सो भवनको समुद्घाटन गरेका हुन् ।
विपद्को विषम परिस्थितिका कारण प्रमुख अतिथि कार्की उपस्थित अतिथिहरुलाई धन्यवाद दिँदै तत्कालै काठमाडौं प्रस्थान गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।
समारोहमा पश्चिम पृतना हेडक्वार्टर विजयपुर पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसी र सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थिति थियो ।
त्यसैगरी जिल्लास्थित स्थानीय तहका प्रमुख, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, स्थानीय युवा क्लब र आमा समूहका प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १० रामघाटस्थित करिब १० रोपनी क्षेत्रफलमा उक्त संरचनाहरु निर्माण गरिएको हो ।
नेपाल सरकारको १० करोड ५९ लाख ५० हजार १६३ रुपैयाँ २४ पैसा लागतमा वडा प्रहरी कार्यालय रामबजारको कार्यालय भवन, मेश तथा ब्यारेक भवन, हिरासत भवन, प्रतिक्षालय र पेरिमिटर लगायतका संरचना निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले स्वागत मन्तव्य राखे । भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन गण्डकी प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रनाउ इन्जिनियर चिरञ्जिवी प्रताप महतोले प्रस्तुत गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कृष्ण बस्यालले गरेका थिए ।







