‘सिटीवान तीज मेला’को हेल्थ पार्टनरमा मणिपाल अस्पताल

पोखरामा आयोजना हुने पाँचौँ संस्करणको सिटीवान सांस्कृतिक तीज मेलाको हेल्थ पार्टनरका रुपममा नेपाल मणिपाल शिक्षण अस्पताल रहने भएको छ ।

सम्झौतासँगै अस्पतालले मेला स्थलमा बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछ। सिटीवान टेलिभिजनको आयोजनामा हुने प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ भदौ २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुँदैछ।

मेलामा आउने दर्शक तथा सहभागीको स्वास्थ्यलाई लक्षित गरी मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने टेलिभिजनसँग सम्झौता भएको हो ।

मेलास्थलमै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा महिलाका लागि आवश्यक विशेष स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। यसका लागि सिटीवान टेलिभिजन र मणिपालबीच सहकार्यको सम्झौता भएको आयोजकले जनाएको छ।

सम्झौताअनुसार मेलामा सहभागी हुने तथा दर्शकका लागि मणिपालले वर्षभरि प्रयोग गर्न मिल्ने एकपटकको डिस्काउन्ट कार्ड उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा १५ प्रतिशतसम्म छुट, एमआरआई तथा सिटी स्क्यानमा १० प्रतिशत छुट र अपरेशन सेवामा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।

सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले तीज संस्कृति संरक्षणसँगै मेलालाई स्वास्थ्य, सामाजिक चेतना र समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइन्। उनका अनुसार मनोरञ्जनसँगै सहभागी तथा दर्शकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

मेलामा करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्य, भेषभूषा र शब्दका लागि पाँच–पाँच हजार रुपैयाँ पुरस्कार राखिएको छ।

Scroll to Top