अफ्रिकी मुलुक हाइटी, जसले क्रान्तिको बलमा दासत्वको साङ्लो चुडायो

दास बनाइएका अफ्रिकीहरूको ट्रान्सएटलान्टिक व्यापार इतिहासका सबैभन्दा गम्भीर अपराधहरूमध्ये एक थियो।

लाखौँ पुरुष, महिला र बालबालिकालाई जबर्जस्ती उनीहरूको घरबाट खोसियो, उनीहरूको मानवता अस्वीकार गरियो र पुस्तौँसम्म शोषण सहन बाध्य पारियो। यस अपराधलाई उचित ठहर्याउन प्रयोग गरिएका जातिवादी विचारधाराहरू संस्था र समाजमा गहिरोसँग स्थापित भए, जसले आजसम्म कायम असमानताहरूलाई आकार दिएका छन्।

यस वर्षको विषय ‘कार्यमा न्याय’ हो। यसले विश्व समुदायलाई यस इतिहासको इमानदारीपूर्वक सामना गर्न र यसको दीर्घकालीन प्रभावलाई स्वीकार गर्न आह्वान गर्दछ। मर्यादालाई अघि बढाउनु भनेको विभेदलाई निरन्तरता दिने प्रणालीहरूमा परिवर्तन ल्याउनु र अफ्रो–वंशज समुदायका अधिकारहरूको संरक्षण तथा सुनिश्चितता गर्नु हो।

भविष्यलाई सशक्त बनाउन अवसरहरूको विस्तार, सहभागिता सुदृढीकरण तथा क्षतिपूर्ति, समावेशिता र न्यायलाई प्रवर्द्धन गर्ने उपायहरूको समर्थन आवश्यक छ। स्मरणलाई कार्यमा रूपान्तरण गरेर हामी यस्तो विश्व निर्माणमा योगदान गर्न सक्छौँ, जहाँ प्रत्येक व्यक्तिले समानता, मर्यादा र आशासहित जीवन बिताउन सकोस्।

यो दिवस शिक्षाका लागि पनि हो

दासत्व र ट्रान्सएटलान्टिक दास व्यापारका पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस आत्मचिन्तन र सम्झनाको अवसर हो। तर यो शिक्षाको अवसर पनि हो।

प्रचलित मिथकहरूको विपरीत, दास बनाइएका अफ्रिकीहरूले अमेरिकाको समृद्धिमा आफ्नो श्रममार्फत मात्र होइन, महत्वपूर्ण सीप र ज्ञानको हस्तान्तरणमार्फत पनि योगदान गरेका थिए। साथै, उनीहरूले आफ्नो भाग्यलाई चुपचाप स्वीकार गरेनन्स उनीहरूले शक्तिशाली प्रतिरोधका गतिविधिहरू सञ्चालन गरे।

संयुक्त राष्ट्रसंघले ट्रान्सएटलान्टिक दास व्यापार तथा दासत्वसम्बन्धी आउटरीच कार्यक्रम र दास बनाइएका जनताको मार्ग परियोजना मार्फत यस्ता कथाहरूलाई उजागर गर्ने काम गर्दै आएको छ। पहिलो कार्यक्रम संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागले सञ्चालन गर्छ भने परियोजना संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले सञ्चालन गर्छ।

यो दिवस कसरी सुरु भयो ?

सन् २००६ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव ६१/१९ मार्फत ‘दास व्यापार र दासत्व मानव इतिहासमा भएका सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घनहरूमध्ये पर्छन्, विशेषगरी तिनको व्यापकता र दीर्घकालीनतालाई ध्यानमा राख्दै’ भन्ने मान्यता दियो। त्यसपछि २५ मार्च २००७ लाई ट्रान्सएटलान्टिक दास व्यापार उन्मूलनको द्विशतवार्षिकीको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरियो।

त्यसको अर्को वर्ष, प्रस्ताव ६२/१२२ मार्फत संयुक्त राष्ट्रसंघले हरेक वर्ष २५ मार्च लाई दासत्व र ट्रान्सएटलान्टिक दास व्यापारका पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस का रूपमा मनाउने निर्णय गर्‍यो। यो व्यवस्था सन् २००८ देखि लागू भयो।

२५ मार्च नै किन ?

बेलायतमा २५ मार्च १८०७ मा दास व्यापार उन्मूलन ऐन पारित भएको थियो। त्यस दिनदेखि अफ्रिकाको कुनै पनि तटीय क्षेत्र वा देशबाट दास वा दासका रूपमा बेच्न, हस्तान्तरण गर्न वा प्रयोग गर्न लागिएका व्यक्तिहरूको खरिद, बिक्री, सट्टापट्टा वा हस्तान्तरणसम्बन्धी सबै प्रकारका कारोबारलाई गैरकानुनी घोषणा गरियो।

तर उक्त ऐनले ट्रान्सएटलान्टिक दास व्यापारलाई मात्र अन्त्य गरेको थियोस दासत्व स्वयंलाई भने अन्त्य गरेको थिएन। दासत्व अझै धेरै दशकसम्म जारी रह्यो।

दास व्यापारको उन्मूलन दास बनाइएका अफ्रिकीहरूले गरेको शक्तिशाली र निरन्तर प्रतिरोधको परिणाम पनि थियो। यसमा हाइटीको क्रान्ति विशेष रूपमा महत्वपूर्ण थियो। यही क्रान्तिको परिणामस्वरूप सन् १८०४ मा हाइटी गणतन्त्र स्थापना भयो—दास बनाइएका महिला तथा पुरुषहरूको संघर्षबाट स्वतन्त्र भएको पहिलो राष्ट्रका रूपमा।

एजेन्सीको सहयोगमा

Scroll to Top