पाल्पा: तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुंगमार्ग क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सुरुंगमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने विन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेर सडक अवरोध भएको हो ।
अहिले पनि सो स्थानमा माथिबाट पहिरो खसिरहेको प्रहरीले जनाएको छ । सडक खुलाउने पहल भइरहेको र पहिरो खस्न रोकिनासाथ काम सुरु गर्ने गरी ‘जेसीबी’ तयारी अवस्थामा राखिएको छ ।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा खटिएको छ । यो स्थान प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ ।







