उद्धव भण्डारीले श्रीषाको नग्न फोटो खिचेर ‘ब्ल्याकमेल’ गरिरहेका थिए – विमसु

किशोर श्रेष्ठको ‘जनआस्था’ साप्ताहिकमा श्रीषा कार्कीबारे समाचार लेख्ने पत्रकार विश्वमणि सुवेदी (विमसु)ले हालैको एक टेलिभिजनमा श्रीषाको तस्बिर, त्यसभित्रका अन्तर्य र पत्रिकामा छपिएपछिको नालीबेली खुलाएका छन् ।

विमसुले भनेका छन्:

२०५९ साल असोज २३ गतेको त्यो दिन मेरो स्मृतिमा सधैँ एउटा भारी बनेर बसेको छ। ‘जनास्था’ साप्ताहिकमा मेरो बाइलाइनमा ‘फिल्म नगरीको रंगिन रात’ शीर्षकको समाचार छापियो। त्यो समाचार र त्यसमा प्रयोग गरिएको एउटा तस्बिर नेपाली पत्रकारिता इतिहासकै सबैभन्दा विवादास्पद र पीडादायी घटना बन्न पुग्यो। आज २२ वर्ष बितिसक्दा पनि यो प्रकरणले मलाई र सम्पादक किशोर श्रेष्ठलाई छायाले जस्तै पछ्याइरहेको छ।

त्यतिबेला म जनास्थामा पूर्णकालीन पत्रकार थिइनँ, एउटा पार्ट-टाइमर स्तम्भकारका रूपमा मात्र कार्यरत थिएँ। मेरो अधिकांश समय चलचित्र क्षेत्रकै वरिपरि बित्थ्यो; म चलचित्र संघको बुलेटिन सम्पादन गर्थें र विभिन्न फिल्म म्यागजिनहरूमा पनि आबद्ध थिएँ। जनास्थामा एउटा सनसनीखेज म्यागजिन निकाल्ने तयारी भइरहेको थियो।

त्यही क्रममा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काका पीएसओ रहेका सई उद्धव भण्डारी कार्यालयमा आउने-जाने गर्थे। उनले नै किशोर दाइसँग निकटता बढाएर ‘हामी दुर्लभ र हट फोटोहरू दिन्छौँ, तपाईंहरूले कन्टेन्ट लेख्नुपर्छ’ भन्ने प्रस्ताव राखेका थिए।

त्यो आपत्तिजनक तस्बिर प्रेसमा छापिनु अघिसम्म मैले देखेको थिइनँ। छापिने अघिल्लो दिन प्रेसमा फोटोको साइज नाप्ने क्रममा मात्र मैले पहिलो पटक त्यो तस्बिर देखेको थिएँ। एउटा साथीको त्यसरी तस्बिर छापिनु हुँदैन भन्ने मनमा लागे पनि सम्पादक जस्तो वरिष्ठ व्यक्तित्वले केही सोचेरै यो निर्णय गर्नुभएको होला भन्ने ठानेर मैले त्यतिबेला प्रतिवाद गर्ने साहस गरिनँ।

श्रीषा कार्की मेरो साथी थिइन्। म उनलाई चलचित्र ‘हत्यारा’ को सुटिङ ताकादेखि नै चिन्थेँ। सिन्धुपाल्चोकबाट आएकी उनले चलचित्र नगरीमा गरेको संघर्षलाई मैले निकै नजिकबाट देखेको थिएँ। उनले मलाई पहिले नै उद्धव भण्डारीले जबर्जस्ती फोटो खिचेको र त्यसैलाई लिएर ब्ल्याकमेलिङ गर्दै मानसिक टर्चर दिइरहेको बताएकी थिइन्। म आफैँ पनि विभिन्न जमघटहरूमा उनको बचाउ गर्थें।

समाचार लेख्ने सन्दर्भमा म आफैँ पनि अलमलमा थिएँ। तर एउटा पत्रकारको नाताले संस्थाले सूचनाहरू समेटेर समाचार तयार पार्न भनेपछि मैले प्राप्त गसिपहरुलाई जोडेर टेक्स्ट तयार पारेँ। मलाई आज पनि के लाग्छ भने, समाचारमा लेखिएका शब्दका कारणले मात्र उनले आत्महत्या गरेकी होइनन्।

त्यो तस्बिर सार्वजनिक हुनु र त्यसले निम्त्याएको सामाजिक अपमान नै उनको मृत्युको मुख्य कारण थियो। उनले त्यो फोटो नष्ट गराउन दरबारदेखि प्रहरी महानिरीक्षकसम्मलाई गुहारेकी थिइन्, तर कतैबाट पनि उनले न्याय पाउन सकिनन्।

समाचार छापिएको दिन उनका बुबा र भाइ कार्यालयमा आउनुभएको थियो। उहाँहरूसँगको छलफलपछि दशैँपछिको अङ्कमा खण्डन छाप्ने र त्यो तस्बिर बनावटी हो भनिदिने सहमति पनि भएको थियो। उहाँहरू हाँसेरै बिदा हुनुभएको थियो। तर समाचार छापिएको चार दिनपछि असोज २६ गते उनले आफ्नै निवासमा देहत्याग गरिन्। उनकी बहिनी ट्याक्सी लिन बाहिर निस्किएको १०-१५ मिनेटको अन्तरालमै उनले त्यो कठोर निर्णय लिएकी रहिछन्।

त्यसपछि परिस्थिति हाम्रा लागि निकै प्रतिकूल बन्यो। हामीमाथि ज्यान मुद्दा चलाइयो। म, किशोर दाई र अर्का एक सहकर्मी सात दिनसम्म हिरासतमा रह्यौँ। पछि महान्यायाधिवक्ताको कार्यालयले ज्यान मुद्दा चल्ने पर्याप्त आधार र प्रमाण नदेखिएको राय दिएपछि हामीलाई छाडियो र त्यो फाइल बन्द भयो। फोटो खिच्ने उद्धव भण्डारी भने यो घटनापछि जागिरबाट बर्खास्तीमा परे र किशोर दाइकै सहजीकरणमा बेलायत पुगे। पछि उनले त्यहीँ आत्मदाह गरेको दुखद खबर हामीले सुन्यौँ।

यो घटनाले मेरो जीवनको दिशा नै मोडिदियो। म अमेरिका जाने तयारीमा थिएँ, तर यो प्रकरणका कारण मेरो पुलिस रिपोर्टमा दाग लाग्यो र म जान पाइनँ। मेरो परिवार र भाइले समेत यसको मानसिक मूल्य चुकाउनु पर्यो। मलाई एउटा पत्रकारको धर्म निर्वाह गर्दै समाचार लेखेकोमा त पश्चाताप छैन, तर त्यो तस्बिरका कारण एउटा प्रतिभावान कलाकार र मेरो साथीको जीवन समाप्त भयो भन्ने कुराले मलाई सधैँ भित्रैदेखि पिरोल्छ।

आज पनि कसैलाई हामीसँग रिस उठ्यो भने यही पुरानो घाउ कोट्याएर हामीलाई र श्रीषाको परिवारलाई थप पीडा दिने काम गरिन्छ। यो घटनालाई लिएर गरिने व्यक्तिगत टिकाटिप्पणीले कसलाई कति चोट पुग्छ भन्ने कुरा कसैले सोच्दैनन्। मेरो लागि यो एउटा यस्तो भोगाइ हो, जसले मलाई पत्रकारिता र मानवीय संवेदनाका बिचको मसिनो रेखालाई सधैँ सम्झाइरहन्छ।

Scroll to Top