गण्डकी मेडिकल कलेज (जीएमसी) पोखरामा अध्ययनरत एमबीबीएस इन्टर्नसिप प्रशिक्षार्थी चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।
आज कलेज व्यवस्थापन समिति र विद्यार्थी प्रतिनिधिहरूको उपस्थितिमा भएको समन्वय बैठकले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्ने निर्णय गरेको हो ।
बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नसिपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने निर्णय गरेको छ ।
यसका साथै मेडिकल एजुकेसन कमिसन (एमईसी)को निर्णयपछि मेडिकल अफिसर (एमओ)को ५० प्रतिशत तलब बराबरको रकम कार्यान्वयन गर्ने विषयमा पनि समझदारी बनेको छ ।
इन्टर्नसिप अवधिका अन्य प्रणालीगत सुधारका विषयमा समेत दुवै पक्षबीच सहमति जुटेको छ । थप विषयहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशन अनुसार गर्ने र गराउने निर्णय बैठकले गरेको छ ।
यो उपलब्धिका लागि जीएमसी एमबीबीएस र बीडीएस २०१९ ब्याचका विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कुरुमराज सिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको उपस्थितिमा भएको उक्त बैठकमा इन्टर्न चिकित्सकहरूका तर्फबाट समेत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।






