पोखराको पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’को आज औपचारिक उद्घाटन गरिएको छ ।
पोखरा, समग्र साहित्य, कला, सङ्गीत, संस्कृति र पर्यटकीय गतिविधिहरूलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्य सहित पोखरा महानगरपालिकाद्वारा पोखरा घरको निर्माण गरिएको हो ।
यस घरलाई महानगरले बहुउद्देश्यीय केन्द्रका रुपमा निर्माण गरेको जनाउँदै आएको छ ।
एक समारोहकाबीच महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ्ले पोखर घरको उद्घाटन गरेका हुन् ।
यस घरमा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान घर, शौचालय, घण्टाघर लगायत व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग, राधिका कुमारी शाही योगी, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, लगायत महानगरका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महाशाखा प्रमुखहरू लगायत महानगरका कर्मचारीहरू, विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारवालाहरू उपस्थिति रहेको थियो ।
उद्घाटनकैबीच, जग्गादाताहरु हरीगोप रन्जित, गोपालपसाद तझ्यालगायतलाई सम्मानसमेत गरिएको छ ।
साथै, घरमा रहेको पोखरा सार्वजनिक पुस्तकालयलाई विभिन्न विधा र विषयका स्वदेशी तथा विदेशी लेखकका १४५ थान अमूल्य पुस्तक हस्तान्तरण गरिएको छ ।







