आए देउवाः वक्तव्यमार्फत भने -‘विपिको मेलमिलाप नीतिमा विश्वास छ’

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएर एउटा राजनीतिक सन्देश दिएका छन्।

वालेन्द्र शाह नेतृत्वको सरकार आएदेखि पटक पटक पक्राउ र रेड नोटिसको प्रयासबीच विदेशमै रोकिएका उनी बिहीबार काठमाडौं आउँदा रेडकार्पेटदेखि सनरुफमा स्वागत गरिएको छ।

बिहीबार स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले गत पुसमा दोस्रो विशेष महाधिवेशन गरेर आफूलाई पार्टी नेतृत्वबाट बिदा गरेका गगन थापाप्रति नरम देखिएका छन्।

उनले बीपी कोइरालाको मेलमिलापको नीतिमा आफूले विश्वास गर्दै घर फर्किएको बताएका छन् । उनले सभापति थापाको नाम नलिए पनि इगोले पार्टीलाई झन् समस्यामा पार्ने बताएका छन् ।

देउवाले वर्तमान सरकारलाई जनताको परिवर्तनको चाहना सम्बोधन गर्न आग्रह गरेका छन्। जनादेशको सम्मान नगरे सत्तारुढ दल र मुलुक दुवैका लागि हितकर नहुने चेतावनी उनले दिएका छन्। परिवर्तन व्यवस्थापनमा सहयोग गर्न कांग्रेस तयार रहेको पनि उनले बताएका छन्।

पार्टीमा देखिएको असहमति र निराशा अन्त्य गर्दै कांग्रेस एकताबद्ध हुनुपर्ने देउवाको जोड छ। ‘कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितमा केन्द्रित हुनुपर्छ’ भन्ने उनको सन्देश छ।

Scroll to Top