आजदेखि चरणबद्ध आन्दोलन घोषणा गर्दै संघर्षमा उत्रिए इन्टर्न डाक्टर

चिकित्सा शिक्षा संघर्ष अभियानले आन्दोलनको घोषणा गरेको छ । निजी मेडिकल कलेज एशोसिएसनको दबाबमा आवासीय र इन्टर्न चिकित्सकको नियमित पारिश्रमिक रोकेको भन्दै डाक्टरहरूले आजदेखि चरणबद्ध संघर्षमा उत्रने निधो गरेका हुन् ।

राज्यलाई आफ्नो प्रभाव र शक्तिको प्रयोगमार्फत गैरकानूनी तथा अवैज्ञानिक ढंगले निर्णय गर्न बाध्य पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै अभियानले विज्ञप्ति निकालेर भनेको छ, ‘आज यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नसकिए भोलि निजी मेडिकल कलेज तथा अस्पतालहरुले कुन हदसम्म आफ्नो प्रभाव विस्तार गर्न सक्छन् र नेपालको चिकित्सा शिक्षा कुन दिशातर्फ जान्छ भन्ने गम्भीर प्रश्नसमेत खडा भएको छ ।’

यस्तै, एक वर्ष अनिवार्य मेडिकल अफिसर सेवापछि मात्र पीजी परीक्षामा सहभागी हुन पाउने व्यवस्थाले चिकित्सकहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य भइरहेको गुनासो गरिएको छ । अर्कोतर्फ, वर्षेनी करोडौं–अर्बौको कारोबार र नाफा कमाउने मेडिकल कलेजले घाटा देखाउने गरेको भन्दै छानबिनको माग विज्ञप्तिबाट गरिएको छ ।

‘आफ्ना माग पूरा गराउन जुनसुकै हदसम्म जान खोज्ने संस्थाहरुलाई चिकित्सा शिक्षाको सम्बन्धन तथा सञ्चालन अनुमति दिने राज्यको नीतिमाथि समेत गम्भीर समीक्षा र बहस आवश्यक भएको हाम्रो ठहर छ । तसर्थ, चिकित्सा शिक्षा संघर्ष अभियान उल्लेखित विषयमा घोर आपत्ति जनाउँदै आजकै दिनदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

अभियानले आन्दोलनमा सहभागी हुन देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर, स्वास्थ्यकर्मीलगायतलाई आह्वान गर्दै आन्दोलनका क्रममा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायको हुने चेतावनीसमेत दिएको छ ।

Scroll to Top