मंगलबार प्रतिनिधिसभामा २ सय २० जना सांसद उपस्थित भएको संसद सचिवालयको रेकर्डमा उल्लेख छ । त्यसदिन बिहानै सार्वजनिक गरिएको ३ भिन्न कार्यसूचीउपर छलफल गरी निर्णयार्थ प्रस्तुत गर्नुपर्ने थियो ।
जसै छलफल अघि बढ्यो, त्यसपछि बिस्तारै सांसदहरु निस्कन थाले । यसरी सभाबाट बाहिरिने ताँतीमा रास्वपाका सांसदहरुको संख्या उल्लेखनीय थियो । बैठक सुरु भएको ४५ मिनेटपछि सांसदहरु बाहिरिन थालेको दृश्य प्रत्यक्ष प्रशारण भइरहेको थियो ।
बैठकमा उद्योगमन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
प्रस्तावउपर राति सवा ८ बजेसम्म छलफल भएको थियो । छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने वेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो ।
संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । तर सुरुमा २ सय २० जनले हाजिरी गरेपनि पछि ६१ सांसदमात्रै बैठकमा भएपछि अब उक्त प्रस्ताव पुनः भदौ १ गते दर्ता हुनेछ ।
यस बैठकलाई आधार मान्ने हो भने सांसदहरु बेलैमा संसद पुगेर हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । स्मरणीय छ, बैठकमा सांसदहरुलाई २ हजार रुपैयाँ दैनिक भत्ताको व्यवस्था गरेको छ ।
सत्ताशीन दल रास्वपासँग १८२ सिट छ । कुनैपनि प्रस्ताव संशोधन गरी कानूनी रुप दिन ६९ जना सांसद पनि संसदमा नभेटिनु देश र नागरिकप्रति रास्वपा गैरजिम्मेवार हुँदै गएको प्रमाण हो ।
विपक्षी दलहरुलाई ३५ वर्षसम्म गिजोलेको भन्दै प्रत्याक्रमणमा उत्रने रास्वपाका सांसदहरु उनै पुरानाहरुको शैली पच्छ्याउँदा जवाफदेहिताबाट कोशौं टाढा पुग्दैछन् ।
शायद, संसदको बिजोग देखेर होला, सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा ‘सफलताको चुली चुम्न यति छिटो दगुरेछौं कि, जुत्ता फेदीमै छुटेछ’ लेख्न बाध्य भइन् । उनै धितालको भागमा संसद सचिवालयबाट हाजिरीको रेकर्डमाथि अध्ययन र विश्लेषण गरी प्रतिवेदन बुझाउने जिम्मेवारी छ ।
रास्वपाले आगामी २९-३१ साउनसम्म तीन दिन सांसदहरुलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिँदैछ । आशा गरौं, प्रशिक्षणपछि सांसदहरुले २ हजार भत्ता पचाउनमात्रै हाजिर गर्न संसद पुग्ने छैनन् ।







