स्थानीयको हक सुनिश्चित नभई वेगनासमा ‘वाटर स्पोर्ट’ सञ्चालन गर्न नदिने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका वडा नम्बर ३१ ले बेगनासतालमा स्थानीय समुदायको हक, अधिकार, स्वामित्व र सहभागिता सुनिश्चित नगरी अघि बढाइने प्रस्तावित ‘वाटर स्पोर्ट’ परियोजनाको समर्थन नगर्ने बताएको छ।

हालै प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले प्राकृतिक सम्पदामाथि केही निजी व्यवसायीको एकाधिकार कायम गर्ने उद्देश्यले प्रेरित कुनै पनि कार्यप्रति आफ्नो समर्थन नरहेने स्पष्ट पारेको छ।

रास्वपा वडा नम्बर ३१ की सभापति सविता बराल कोइरालाद्वारा जारी विज्ञप्तिमा प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणीय अनुकूलता, जैविक विविधता र स्थानीय सहभागिता हुनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्य र वडाध्यक्ष ढकानाथ कडेलको पछिल्ला गतिविधिले स्थानीय र यस तालसँग प्रत्यक्ष सरोकार राख्ने तथा सम्बन्धित व्यवसायीको संलग्नतालाई लत्याउने काम गरेको छ।’

रास्वपाले बेगनासतालमा ‘वाटर स्पोर्ट’ सञ्चालन गर्दा वातावरणीय र पर्यावरणीय प्रतिकूलता हुन नहुने भन्दै विगतका गतिविधिले खडा गरेका सवालमा असहमति प्रकट गरेको छ।

रास्वपाले वर्षौंदेखि माछा व्यवसाय गर्दै आएका जलारी परिवार र करिब ३०० डुंगा व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेको छ। साथै, स्थानीयवासीको आवतजावत र हक अधिकार सुनिश्चित हुनुपर्ने रास्वपाको अडान छ।

विज्ञप्तिमा मेयर र वडाध्यक्षको कार्यशैलीमाथि विभिन्न ६ वटा गम्भीर प्रश्न उठाइएको छ। ४ वर्षको कार्यकालमा मेयर र वडाध्यक्षबीचको टसलका कारण ४५ लाख खर्चेर ल्याइएको मोटरबोट सञ्चालनमा रोक लगाइएको र स्थानीय युवालाई कम्पनी दर्ता गर्न नदिइएको रास्वपाको आरोप छ।

महानगरबाट ‘सिलिङ’ बजेट बाहेक अतिरिक्त बजेटको व्यवस्था नभएको र पर्यटकीय पूर्वाधार विकासमा प्रदेश तथा केन्द्र सरकार उदासीन बनेको विज्ञप्तिमा उल्लेख छ।

महानगरको उदासीनताका कारण मोहरिया, स्याङ्खुदी र गोलेपानी मोटरबाटो ४ वर्षदेखि अलपत्र परेको, स्याङ्खुदी भञ्ज्याङको रिङरोड समयमा सम्पन्न नभएको र बेगनासताल बसपार्क निर्माणमा पहल नभएको रास्वपाले जनाएको छ।

त्यसैगरी ताल वरिपरि फुटपाथ निर्माणका लागि केन्द्रबाट आएको बजेट पटक-पटक फ्रिज हुँदासमेत महानगरले सरोकार नराखेको उसको दाबी छ।

रास्वपाले लामश्वारा, बेगनासको कोटवारी, अदुवाबारी, कडेलथर, पौडेलथर र पञ्चभैया ग्रामीण पर्यटनका कार्यक्रममा महानगरले कुनै पहल नगरेको बताएको छ।

‘बेगनासताल कुनै सीमित व्यक्ति, कम्पनी वा समूहको मात्र सम्पत्ति होइन, यो सम्पूर्ण स्थानीय समुदायको साझा प्राकृतिक सम्पदा हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसको विकास गर्दा आगामी पुस्ताको हितलाई समेत ध्यानमा राखिनुपर्छ।’ रास्वपाले यी विषयको जवाफ मेयरले दिनुपर्ने मागसमेत गरेको छ।

Scroll to Top