साउनको अन्तिम सोमबारः बैदामको केदारेश्वरमा श्रद्धालु र व्रतालुको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, पोखराको बैदामस्थित केदारेश्वर महादेव मन्दिरमा व्रतालु र श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।

सेती नदिबाट जल ल्याएर महादेवको मुर्तिमा चढाउनेहरुको लामो लाइनले मन्दिर परिसर भरिएको छ भने भजन, कीर्तन र नाचगान गर्नेको समूह पनि अघिल्ला सोमबारको तुलनामा बढी देखिएको छ ।

पोखरामा नेपालीसँगै भारतीय श्रद्धालुको घुइँचो लागेको छ । त्यस्तै, तराइवासीहरुसमेत बोलबममा मस्त छन् ।

आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिन्छ ।

‘प्रदोष’ भनेको सामान्यतस् सूर्यास्तअघिरपछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ ठानिन्छ ।

प्रदोषकाल, अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ । यस दिन दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने बताइन्छ ।

Scroll to Top