अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका मुख्य राजमार्गसहित विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रुकुम पश्चिमका सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन।
इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएपछि यातायात ठप्प भएको छ। यस्तै, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी, लिपिङ र डुम्रेमा पहिरो तथा सडक भासिएकाले अरनिको राजमार्ग अवरुद्ध बनेको छ।
रसुवाको उत्तरगयास्थित खाल्टेमा कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको रिजेगार्ड खोलामा भेरी करिडोर र तेह्रथुमको काडे नजिकै मध्यपहाडी लोकमार्ग पहिरोका कारण ठप्प छन्।
यता, बाढी पहिरोले बढी प्रभावित पार्ने गण्डकी क्षेत्रमा भने यातायातमा अवरोध नरहेको पाइएको छ । यस प्रदेशका हिमाली जिल्लाअन्तरगत बेनी मुस्ताङ कोरला सडक खण्ड बढी प्रभावित हुने गर्दछ ।
त्यस्तै, उत्तरी गोरखासमेत अघिल्लो साता प्रभावित भएको थियो ।
प्रहरीले बाढी-पहिरोको जोखिम कायमै रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे पूर्वजानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।






