किशोर वयका विद्यार्थीले नेपालमा संघीयताका अवसर र चुनौतीबारे मन्थन गरेका छन् ।
संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा गरेको का विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुँदै उनीहरुले संघीय शासन व्यवस्थाका विविध आयामबारे धारणा राखेका हुन् ।
प्रतिस्पर्धामा सुजना पौडेल प्रथम भइन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो भए । अनिल यादवले सान्त्वना स्थान प्राप्त गरे । सहभागी कक्षा ११ र १२ का विद्यार्थीले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । उनीहरुले सिंहदरबारको अधिकार गाउँसम्म पुग्नु संघीयताको सुन्दर पक्ष भएको उल्लेख गरे ।
प्रथम स्थान हासिल गरेकी सुजना पौडेलले संघीयताले स्थानीय पहिचानको संरक्षण गर्ने बताइन् ।
‘यसले स्थानीय स्तरका स्रोत साधनको परिचालन गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाएको छ,’ उनले भनिन् ।
दोस्रो भएका कुबेर पाण्डेले संघीयताले नीति निर्माण तहमा महिला, दलित र जनजातिलाई स्थान दिएको तर्क गरे । ‘हिजो काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ, तर अधिकार बाँडफाँडमा अझै स्पष्टता चाहिएको छ,’ उनले भने ।
प्रशंसा शर्माले व्यवस्था भन्दा पनि कार्यान्वयन पक्ष मुख्य हुने विचार राखिन् । ‘संघीयता असफल भएको होइन, यसलाई सफल बनाउन इमानदार नेतृत्व र सक्षम प्रशासन चाहिन्छ,’ उनले बताइन् ।
समृद्धि पौडेलले संघीयतालाई एउटा रुखसँग तुलना गर्दै केन्द्रलाई जरा, प्रदेशलाई हाँगा र स्थानीय तहलाई पातको संज्ञा दिइन् । उनले नागरिकलाई सो रुखको फलका रुपमा व्याख्या गरिन् । नेहा थापाले स्थानीय समस्या स्थानीय तहले नै राम्रोसँग बुझ्ने हुँदा विकासले गति लिएको दाबी गरिन् ।
अनुप विक र स्वस्तिक परियारले भने संघीयता खर्चिलो भएको र भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरे । ‘दुर्गम क्षेत्रमा अझै विकासको अनुभूति हुन सकेको छैन, बजेटको सदुपयोग ठूलो चुनौती हो,’ उनीहरुको तर्क थियो ।
संजय आचार्यले संघीयतालाई साझा भविष्यको आधार मानेका थिए । विद्यार्थीले नागरिकता र जन्मदर्ता जस्ता सेवा आफ्नै वडाबाट पाउनु संघीयताको सफलता भएको बताए ।
संसदीय पत्रकार मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले विद्यार्थीलाई संघीय शासन व्यवस्थाबारे सुसूचित गराउन कार्यक्रम गरिएको बताए । ‘कानुन निर्माण प्रक्रिया र संसद्को क्षेत्राधिकारबारे नयाँ पुस्तालाई जानकारी गराउनु हाम्रो उद्देश्य हो,’ कोइरालाले भने ।
पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सामाजिक अध्ययन र व्यावहारिक सीपका लागि यस्ता बहस प्रभावकारी हुने बताए ।
विजेता विद्यार्थीलाई कोइरालाद्वयले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा नेहा थापा, उपासना बराल, करुणा जमकट्टेल, करुणा ओझा, अनुप विक र स्वस्तिक परियारले पनि प्रतिस्पर्धा गरेका थिए । निर्णायकको भूमिकामा शिक्षकद्वय आत्माराम अधिकारी र किरण अधिकारी थिए ।
कक्षा ११ मा कानुन अध्ययनरत भूमिका राना र किस्मत विशवकर्माले सञ्चालन गरेको कार्यक्रममा हायुन श्रेष्ठले समय व्यवस्थापनको काम गरिन् । ६० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रममा संघीयता र संसदीय प्रणालीबारे उत्साहजनक बहस भएको थियो ।







