कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक जंगलमा अलपत्र परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरू अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीस्थित मोदी खोलापारिको क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
अलपत्र पर्नेमा पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ छन् । उनीहरू बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि मोबाइल फोन बन्द भएको प्रहरीले जनाएको छ ।
तीन युवक सम्पर्कविहीन भएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको थियो । सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित चार जनाको टोली उनीहरूको खोजीमा खटिएको थियो ।
घटनाबारे थप जानकारी लिन तथा खोजी कार्यलाई तीव्रता दिन भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा दुई प्रहरी परिचालन गरिएको थियो । उक्त टोलीले स्थानीय बासिन्दा तथा युवकका आफन्तसँग समन्वय गरी खोजी गरिरहेको थियो ।
यसै क्रममा बुधबार दिउँसो २ बजे उनीहरू अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीस्थित मोदी खोलापारिको क्षेत्रमा रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी राजेन्द्र पौडेलको नेतृत्वमा दुई जनाको टोली उद्धारका लागि परिचालन गरिएको हो ।







