गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासबीच आज मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध, श्रम सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सम्पर्क विस्तार गर्ने विषयमा छलफल भयो ।
भेटका क्रममा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान हुनुका साथै कृषि, स्वास्थ्य, शिक्षा, प्रविधि तथा सीप विकास लगायतका क्षेत्रमा इजरायलले नेपालमा गर्दै आएको सहयोगबारे छलफल भएको थियो ।
साथै, इजरायलमा कार्यरत नेपाली श्रमिकहरूको वर्तमान अवस्था, उनीहरूको हित संरक्षण, सुरक्षित तथा व्यवस्थित वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने सम्भावना लगायतका विषयमा समेत उनीहरूले छलफल गरे ।
नेपाली श्रमिकका लागि इजरायलमा उपलब्ध हुन सक्ने थप रोजगारीका अवसर तथा संघीय सरकारसँग हुने सहकार्यका अतिरिक्त प्रदेश सरकारसँग समेत श्रम, सीप विकास र जनशक्ति व्यवस्थापनका क्षेत्रमा आपसी सहकार्य तथा समझदारीका सम्भावनाबारे सकारात्मक विचार आदानप्रदान भयो ।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीतिअनुरूप भइरहेको पहलका सन्दर्भमा इजरायलसँग पर्यटन, आवागमन तथा हवाई सम्पर्क विस्तारका सम्भावित अवसर र सहकार्यका विषयमा पनि सकारात्मक छलफल भएको छ ।







