पर्यटन प्रवद्र्धन र संरक्षणलाई प्राथमिकता दिइने पोखरेलको भनाई

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् ।

होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए ।

बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट व्यवसायीले फाइदा लिन सक्नुपर्ने भनाई राखे ।

पोखराका तालहरुको संरक्षणका लागि बजेट छुट्टिएको, यहाँ भएका विभिन्न ताल मध्ये एउटा ताल जलगतिविधिका लागि छुट्याउने तयारी भएको, आरोग्य पर्यटनलाई अगाडि बढाउन बोर्ड गंभीर भएर लागिरहेको र उचाईमा यात्रा गर्ने पर्यटकको सुरक्षाका लागि टानसँग समेत बोर्डले समन्वय गरिरहेको कार्यक्रममा पोखरेलले बताए ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बोर्डसँग समन्वय गरेर आफूहरु अगाडि बढ्न चाहेको बताए । संघले विगतदेखि संचालन गर्दै आएको चलिय पोखरा जस्तो कार्यक्रमको प्रभावका कारण पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढ्न पुगेको अध्यक्ष सुवेदीले सुनाए ।

यसप्रकारका प्रबद्र्धन कार्यक्रम निजी क्षेत्रले संचालन गर्न सहज हुने खालका नीतिनियम बोर्डले बनाउनुपर्ने सुझाव पनि उनले राखे । होटलका कर्मचारी र संचालकका लागि आबश्यक तालिम संचालनमा बोर्डले सघाउनुपर्ने माग पनि उनले राखे ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पीडितहरुको पनि कुरा सुन्दै फेवा तालको संरक्षणमा सरकार गंभीर बन्नुपर्ने भनाई राखे ।

फेवा संरक्षणका लागि सरकारले बजेट छुट्याएको आफूले थाह नपाएको बताउँदै उनले यस तालका लागि कति बजेट छुट्टियो त भनी प्रश्न राखे । पदयात्रा क्षेत्र लगायत अन्य ठाउँमा पुराना भइसकेका संकेतबोर्डहरु फेर्नुपर्ने सुझाव पनि उनको थियो ।

Scroll to Top