आफ्नो गाउँको पत्रिका बन्द हुने चाल पाएपछि इभानले किने ‘द मोन्टिसेलो न्यूज’

अमेरिकामा स्थानीय समाचारपत्रहरू संकटमा परिरहेको र बन्द हुने क्रम बढिरहेको समयमा एक २५ वर्षीय युवकले आफ्नो गृहनगरको पत्रिका खरिद गरेर सबैलाई अचम्मित पारेका छन् ।

इभान न्युटनले दुई हप्ताअघि दक्षिण जर्जियाको सानो साप्ताहिक पत्रिका ‘द मोन्टिसेलो न्युज’को स्वामित्व ग्रहण गरे । उनी अहिले देशकै सबैभन्दा कान्छा पत्रिका साहुमध्ये एक बनेका छन् ।

७० वर्षीया क्याथी मडबाट पत्रिका खरिद गरेका न्युटनले अहिले तीन जना कर्मचारी, केही स्वतन्त्र लेखक र वितरकहरूको टोलीलाई सम्हालिरहेका छन् । कलेजबाट मुस्किलले स्नातक उत्तीर्ण गरेका न्युटनले यसअघि कुनै पनि व्यवसाय चलाएका थिएनन् । उ

नी भन्छन्, ‘मैले कहिल्यै व्यवसाय चलाएको छैन, अहिले काम गर्दै सिक्दै छु ।’ यो पत्रिकामा १८ सय डिजिटल र प्रिन्ट ग्राहक छन्, जसले ज्यास्पर काउन्टीका १८ हजार बासिन्दाको १० प्रतिशत हिस्सा ओगट्छ ।

न्युटनले यो पत्रिका नकिनेको भए कि त यो सधैँका लागि बन्द हुने थियो, कि त कुनै ठुलो कंग्लोमेरेट (व्यापारिक समूह)को हातमा पुग्ने थियो ।

न्युटनका अनुसार अमेरिकामा स्थानीय समाचारको अवस्था निकै दयनीय छ । सन् २००५ यता अमेरिकाका ४० प्रतिशत अर्थात् झन्डै ३,५०० पत्रिकाहरू बन्द भइसकेका छन् ।

नर्थवेस्टर्न युनिभर्सिटीको ‘द स्टेट अफ लोकल न्युज २०२५ रिपोर्ट’ अनुसार पछिल्लो दुई दशकमा स्थानीय समाचारको पहुँच नभएका काउन्टीहरूको संख्या १५० बाट बढेर २१० पुगेको छ । क्याथी मड भन्छिन्, ‘सबैको हातमा मोबाइल फोन पुगेपछि युवाहरूले पत्रिका समात्न र पढ्न छाडेका छन् ।’

ठुला कर्पोरेट कम्पनीहरूले बाँकी रहेका पत्रिकाहरू पनि खरिद गरिरहेका छन् । अहिले ‘ग्यानेट’ र ‘एल्डेन ग्लोबल क्यापिटल’ जस्ता पाँच ठुला कम्पनीहरूको स्वामित्वमा देशका १५ प्रतिशत पत्रिकाहरू छन् ।

‘द मोन्टिसेलो न्युज’ जस्ता स्वतन्त्र स्वामित्वका पत्रिकाहरू आधाभन्दा पनि कम छन् । यस्ता ठुला कम्पनीहरूले पत्रिका किनेपछि स्थानीय विषयवस्तुभन्दा क्षेत्रीय विषयमा ध्यान दिने र कर्मचारी कटौती गर्ने गरेको न्युटनले बताए । उनले गत गर्मी याममा जर्जियाको सबैभन्दा ठुलो पत्रिका ‘द एटलान्टा जर्नल–कन्स्टिट्युसन’मा पनि प्रिन्ट संस्करण बन्द भएको उदाहरण दिए ।

स्थानीय पत्रिकाको अभावमा समुदायमा हुने चोरी, रोजगारीका अवसर र स्थानीय कार्यक्रमबारे जानकारी पाउन गाह्रो हुने विज्ञहरूको भनाइ छ ।

स्थानीय समाचार पढ्ने मानिसहरू चुनावमा बढी सहभागी हुने र उनीहरूमा राजनीतिक ध्रुवीकरण पनि कम हुने अध्ययनले देखाएको छ ।

न्युटन भन्छन्, ‘अहिले सञ्चारमाध्यमप्रति अविश्वास बढेको छ, तर मोन्टिसेलो न्युजका पाठकले मलाई समुदायकै किराना पसल वा कफी पसलमा भेट्छन्, जसले विश्वास बढाउन मद्दत गर्छ ।’

सन् १८८१ मा पहिलो संस्करण प्रकाशित भएको यो साप्ताहिक पत्रिका सधैँ पारिवारिक स्वामित्वमा रहिआएको छ । क्याथी मड र उनकी बहिनी जेनी मर्फीका बुबाले ५१ वर्षअघि यो पत्रिका किनेका थिए ।

मड सम्झिन्छिन्, सन् १९९४ को ठुलो बाढीका बेला पनि उनीहरूले पत्रिका छाप्न रोकेका थिएनन् । यद्यपि इन्टरनेट र सामाजिक सञ्जालका कारण व्यवसाय चलाउन गाह्रो हुँदै गएपछि मडले विगत आठ वर्षदेखि आफ्नै तलब नलिई कर्मचारीलाई पारिश्रमिक खुवाउँदै आएकी थिइन् ।

न्युटनले पत्रिकालाई आधुनिक युग सुहाउँदो बनाउन केही परिवर्तनहरू सुरु गरेका छन् । उनले पत्रिकाको साजसज्जा फेरेका छन् भने आफ्ना बुबा माइक न्युटनलाई स्तम्भकारका रूपमा नियुक्त गरेका छन् ।

उनले पत्रिकाका सामग्रीहरू साप्ताहिक प्रिन्टको प्रतीक्षा नगरी तुरुन्तै अनलाइनमा राख्न थालेका छन् । उनले पत्रिकाको टिकटक अकाउन्ट पनि सुरु गरेका छन्, जसमा २४ घण्टाभित्रै १९८ फलोअर्स पुगेका छन् ।

अहिले ‘द मोन्टिसेलो न्युज’को मुख्य आम्दानीको स्रोत सरकारी कानुनी सूचनाहरू ‘लिगल्स सेक्सन’ हुन्, जसले कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ ।

पत्रिकाको वार्षिक ग्राहक शुल्क ४० डलर रहेको छ । न्युटन भन्छन्, ‘आफ्नो समुदायलाई त्यहाँ बस्ने मानिसले भन्दा राम्रोसँग अरू कसैले चिन्न सक्दैन । म यो कामबाट धेरै धनी नभए पनि आफ्नो इच्छाको काम गर्न पाएकोमा खुसी छु ।’

दी फ्री प्रेस

Scroll to Top