त्रिभुवन विश्वविद्यालयका उपकुलपति भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पृथ्वीनारायण क्याम्पसले २१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्याम्पसको वस्तुस्थिति बुझ्न पोखरा आएका बेला स्ववियु अध्यक्ष विष्णु पोखरेलले आइतबार सो मागपत्र बुझाएका हुन् । स्ववियुले पोखरामा नै दीक्षान्त समारोह सञ्चालन गर्नुपर्ने र क्याम्पसमा एमफिल तथा पीएचडी तहको अध्ययन सुरु गर्नुपर्ने मुख्य माग राखेको छ । २०८२ मङ्सिर १० गतेको त्रिवि सिनेटको निर्णय कार्यान्वयन गरी गण्डकी प्रदेशका विद्यार्थीका लागि पोखरामा दीक्षान्त आयोजना गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
विद्यार्थीको अध्ययनलाई नियमित र गुणस्तरयुक्त बनाउन स्ववियुले उपकुलपतिको ध्यानाकर्षण गराएको छ । ‘स्ववियु सबै विद्यार्थीको आशा र भरोसाको केन्द्र हो,’ अध्यक्ष विष्णु पोखरेलले भने । उनले निर्वाचित स्ववियुलाई पूरा कार्यकाल सेवा गर्ने ग्यारेन्टी गर्न माग गरे । विद्यार्थी संगठनमार्फत संगठित हुने अधिकारमाथि हस्तक्षेप नगर्न पनि उनले सचेत गराएका छन् ।
क्याम्पसमा शिक्षा संकाय अन्तर्गत बीआइसीटीई विषय थप गर्नुपर्ने माग अघि सारिएको छ । क्याम्पसको बैंकमा क्यूआर कोडमार्फत शुल्क तिर्ने व्यवस्था मिलाउन स्ववियुले जोड दिएको छ ।
स्ववियुले भर्ना र परीक्षा फारम भर्ने प्रक्रियालाई पूर्ण अनलाइन बनाउन माग गरेको छ । पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था र पुरानो पाठ्यक्रम परिमार्जन गर्नुपर्ने विषय मागपत्रमा समेटिएको छ ।
२०७२ को भूकम्पले क्षति पुर्याएको मुख्य प्रशासनिक भवनलाई प्रविधिमैत्री र अपांगमैत्री बनाउनुपर्ने माग गरिएको छ । भवनमा लिफ्टको सुविधा हुनुपर्ने र पुरानै अस्तित्व झल्किनुपर्ने विद्यार्थीको भनाइ छ । क्याम्पसका अधिकांश शैक्षिक भवन जीर्ण भएकाले तिनको पुनर्निर्माण गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
पठनपाठनमा अवरोध हुन नदिन क्याम्पसमा छुट्टै परीक्षा भवन निर्माण गर्नुपर्ने माग गरिएको छ । २०४० सालको राष्ट्रिय खेलकुद आयोजना भएको अन्नपूर्ण रंगशालालाई प्यारापिटसहित व्यवस्थित बनाउनुपर्ने स्ववियुले जनाएको छ ।
निर्माणाधीन कभर्ड हल पूरा गर्न बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ । विद्यार्थीमा नवप्रवर्तन र उद्यमशीलता विकासका लागि इन्क्युबेसन सेन्टर स्थापना गर्नुपर्ने माग अघि सारिएको छ । स्टार्टअप र अनुसन्धानका लागि आवश्यक बजेट र प्राविधिक सहयोगको व्यवस्था गर्न विद्यार्थीले माग गरेका छन् ।
क्याम्पसमा निर्माणाधीन छात्रवासलाई पूर्णता दिन थप बजेट माग गरिएको छ । आईटी र एआई पार्क निर्माणका लागि पनि बजेट विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
विज्ञान र शिक्षा प्रयोगशालामा आवश्यक शैक्षिक सामग्री व्यवस्था गर्न स्ववियुले दबाब दिएको छ । गरिब विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था र ‘पढ्दै कमाउँदै’ नीति कार्यान्वयन गर्न माग गरिएको छ । क्याम्पसभित्रका मर्मत र सरसफाइका काममा विद्यार्थीलाई रोजगारी दिनुपर्ने प्रस्ताव गरिएको छ ।
क्याम्पस परिवर्तन गर्दा हुने झन्झटिलो प्रावधान हटाउन स्ववियुले माग गरेको छ । ट्रान्सक्रिप्ट र मार्कसिटमा नाम सच्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने विद्यार्थीको माग छ । यस्तो सुविधा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाटै निस्शुल्क उपलब्ध गराउनुपर्ने मागपत्रमा उल्लेख छ । विद्यार्थीका लागि निस्शुल्क स्वास्थ्य बीमा लागू गर्नुपर्ने माग अघि सारिएको छ । प्रत्येक क्याम्पसमा स्थायी मनोपरामर्शकर्ताको दरबन्दी सिर्जना गरी नियुक्ति गर्नुपर्ने माग गरिएको छ ।
क्याम्पसको भानु पार्कमा अध्ययन प्रतिक्षालय निर्माणका लागि बजेट माग गरिएको छ । सूचनाको अभावमा विद्यार्थीले परीक्षा र भर्ना छुट्ने गरेकाले सूचना प्रणाली प्रभावकारी बनाउन स्ववियुले आग्रह गरेको छ । ‘हाम्रा जायज माग तत्काल सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछौं,’ अध्यक्ष पोखरेलले भने ।







