गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखरामा विपद्, दुर्घटना एवं जलन सम्बन्धी एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जीसीले विपद्, दुर्घटना एंव जलन हुन पूर्व र भए पश्चात अपनाउने सावधानी सहित व्यवहारिक अभ्यासले आपत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता व्यवहारिक ज्ञानले कार्यक्षेत्रमा खटिने प्रहरीको दक्षता वृद्धि गर्ने उल्लेख गरे ।
अनुशिक्षणमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराकी प्राविधिक प्रहरी निरीक्षक डा. शुसि श्रेष्ठले विपद् तथा दुर्घटनामा घाइते भएकाहरूको प्राथमिक उपचार र उद्धार व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास प्रस्तुतीकरण गरिन् ।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. पियुष गिरीले जलन भएका घाइतेहरूको प्राथमिक उपचार तथा उद्धार सम्बन्धी प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की तथा जिल्ला प्रहरी कार्यालय कास्कीका गरी जम्मा ८० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।







