गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।
तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्पदंश भएको थियो ।
यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटना बढी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।
उनका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
‘सर्पदंशपछि बिरामीलाई सकेसम्म शान्त राखी तुरुन्त उपचारका लागि अस्पताल पुर्याउनुपर्छ’, उनले भने, ‘समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ । वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता लगाउने, राति टर्चको प्रयोग गर्ने र घर वरिपरिको झाडी सफा राख्नेजस्ता सावधानी अपनाउन आवश्यक छ ।’
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)पछि चालु आवमा तनहुँमा २७९, कास्कीमा १८७, स्याङ्जामा १७७, लमजुङमा ९३, म्याग्दीमा ५७, गोरखामा ४६, बागलुङमा ३८ र पर्वतमा १६ सर्पदंशका घटना दर्ता भएका छन् । मनाङ र मुस्ताङमा भने कुनै घटना दर्ता भएका छैनन् ।
प्रदेशस्तरको तथ्याङ्क हेर्दा पनि सर्पदंशका घटना क्रमशः घट्दो देखिएको छ । आव २०८२/८३ मा गण्डकी प्रदेशभर एक हजार ५६० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये ९२ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।
अघिल्लो आव २०८१/८२ मा प्रदेशभर दुई हजार २०१ सर्पदंशका घटना र १८६ विषालु सर्पदंशका बिरामी दर्ता भएका थिए ।
त्यस्तै आव २०८०/८१ मा एक हजार ८७६, २०७९र८० मा एक हजार ७२४ र २०७८/७९ मा एक हजार ४४१ सर्पदंशका घटना अभिलेख भएका थिए ।







