काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ।
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो। उनको निधनपछि उचित राहत र न्यायको माग गर्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए।
पीडित परिवारको अडानपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति जुटेको हो। सहमतिअनुसार सरकारले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गर्ने र पत्नीलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। सहमतिपछि परिवारले शव बुझ्न तयार भएका छन्।







