free health camp dumre

डुम्रेमा विशेषज्ञ न्यूरो सेवा, १३९ लाभान्वित

शम्भु श्रेष्ठ,तनहुँ । ‘स्वस्थ मस्तिष्क, स्वस्थ जीवन’ भन्ने मूल नारासहित तनहुँको डुम्रेमा शनिबार आयोजित एकदिने निःशुल्क न्यूरो स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन् २०२६ जुलाई ११ (२०८३ असार २७) मा सञ्चालन गरिएको शिविरमा १३९ जनाले विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श लिएका छन् ।

नेसनल न्यूरो सेन्टर एन्ड मल्टिस्पेसियालिटी हस्पिटल, काठमाडौंको मुख्य आयोजनामा सम्पन्न शिविरलाई नेपाल स्ट्रोक प्रोजेक्ट, एपिलेप्सी फाउन्डेसन नेपाल र आस्था फाउन्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेका थिए । स्थानीय सहयोगी संस्थाका रूपमा तनहुँ उद्योग वाणिज्य संघले सहकार्य गरेको थियो ।

डुम्रेस्थित ढुङ्गे सांस्कृतिक युवा परिवारको सभाहलमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको शिविरमा काठमाडौंबाट आएका वरिष्ठ न्यूरो विशेषज्ञ चिकित्सकहरूले नशा, मेरुदण्ड तथा मस्तिष्कसम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण तथा निःशुल्क परामर्श प्रदान गरेका थिए ।

शिविरमा नशा तथा स्नायुसम्बन्धी समस्या भएका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार कुल १३९ जनाले सेवा लिएकामध्ये ८५ जना महिला र ५४ जना पुरुष रहेका छन् ।

विशेषज्ञ स्वास्थ्य सेवा सहजै उपलब्ध नहुने ग्रामीण तथा विकट क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले समयमै उपचार र परामर्श पाउन नसकेका बिरामीलाई प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ । यस्ता स्वास्थ्य शिविरले स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

Scroll to Top