स्पेन सेमिफाइनलमा, बेल्जियमको विश्वकप यात्रा समाप्त

स्पेनले प्रभावशाली विश्वकप यात्रालाई निरन्तरता दिँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार बिहान अमेरिकामा सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन विश्वकपको यात्रामा अघि बढेको हो ।

समूह चरणदेखि नै उत्कृष्ट लयमा देखिएको स्पेनले नकआउट चरणमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । त्यसपछि पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल पुगेको स्पेनले अब बेल्जियमलाई पनि पन्छाउँदै लगातार तेस्रो जित निकालेको छ ।

बेल्जियमविरुद्धको खेलमा स्पेनले ३०औँ मिनेटमा फाबियान रुइजको गोलबाट अग्रता लिएको थियो । तर ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलेरेले बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले अवसर उत्कृष्ट खेल पस्के पनि निर्णायक गोल निस्कन सकेको थिएन । अन्ततः ८८औँ मिनेटमा वैकल्पिक खेलाडी मिकेल मेरिनोले विजयी गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याए । मेरिनोले लगातार दोस्रो नकआउट खेलमा निर्णायक गोल गर्दै स्पेनका नायक बने ।

स्पेन अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग भिड्नेछ । सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको स्पेनले दोस्रो विश्वकप उपाधिको लक्ष्यसहित आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ ।

Scroll to Top