‘नयाँ सदस्य खोज्दै घरदैलो गरेर पार्टी बलियो हुँदैन’

किशोरदत्त बराल

पार्टीको वास्तविक तागत सदस्य संख्यामा होइन, सदस्यको गुणस्तरमा हुन्छ।

दुर्भाग्यवश, हामी अझै पनि सदस्य संख्या बढाउँदै गए पार्टी स्वतः बलियो हुन्छ भन्ने असफल विश्वासमै बाँचेका छौं।

पार्टीलाई बलियो बनाउने हो भने नयाँ सदस्य खोज्दै घरदैलो धाउनेभन्दा पहिले भएका सदस्यहरूमा विश्वास, अनुशासन , प्रतिबद्धता र क्रियाशीलता भरिनुपर्छ। पार्टीप्रति विश्वास नभएको सदस्य परालको त्यान्द्रोजस्तै फितलो हुन्छ—संख्यामा धेरै भए पनि संकटको बेला कुनै बल दिँदैन।

त्यसैले बारम्बार सदस्यता अभियानको समय थप्दै संख्या बढाउनेभन्दा आफ्नो समय, शक्ति र स्रोतलाई नीति, कार्यक्रम, दृष्टिकोण र जनताको जीवनसँग जोडिएका समाधान निर्माणमा केन्द्रित गर्नु आवश्यक छ।

हामीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद केवल नारामा सीमित रहने कि त्यसलाई व्यवहारमा उतार्ने ठोस योजना बनाउने ? पार्टीको केन्द्रिय तहले समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने कार्यक्रम र योजना के बनाइरहेको छ ? त्यसको स्पष्ट निर्देशन र त्यसको कार्यान्वयनको स्पष्ट रणनीति के छ ?

यिनै प्रश्नहरूको विश्वसनीय उत्तरले सदस्यमा विश्वास जगाउँछ, समुदायसँग पार्टीको सम्बन्ध बलियो बनाउँछ, र संगठनलाई जीवन्त बनाउँछ।

यदि आज पनि फरक परिणामको अपेक्षा गर्दै उही पुरानै तरिकाले सोच्ने र काम गर्ने हो भने, गन्तव्य फेरिँदैन।

अब सदस्य संख्या होइन, सदस्यको गुणस्तर, विचारको स्पष्टता र कामको प्रभावकारितालाई प्राथमिकता दिने बेला आएको छ।

यो कुरा कतिपटक भनौ रु कसरी भनौ ?

जय नेपाल ।

बराल नेपाली कांग्रेस, कास्की सभापति हुन् ।

Scroll to Top