नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।
कृषकहरूले पोखरा महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्ने गरेका छन् । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा बर्सेनि करिब १५ टन कपि उत्पादन हुने गरेको छ ।
कफी कृषकहरूलाई प्रोत्साहनका लागि महानगरपालिकाको तर्फबाट कम्तीमा १ सय बोट कफी रोप्नेहरूलाई प्रति बोट रु. ५० प्रदान गर्ने कार्यक्रम अन्तर्गत १० हजार बिरुवा लगाइएको कडरियाले जानकारी दिए ।
महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने, पोखरामा करिब १५ सयको हाराहारीमा कपि क्याफे तथा सपहरु सञ्चालनमा रहेका छन् ।
नगर प्रमुख धनराज आचार्यले कपि खेतीको व्यावसायिक विकासका लागि कृषकहरूलाई बीउ तथा बिरुवामा अनुदान प्रोत्साहन लगायत बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको जनाए ।
कफी क्याफेहरू सञ्चालनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन केन्द्र मार्फत वारिष्टा लगायतको सीप विकासका तालिम कार्यहरू समेत सञ्चालन गरिएको उनले बताए ।
महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उनले बाँझो जमिन तथा बाँदरहरूले क्षति पुर्याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गरे ।
खेतीयोग्य जमिनहरू बाँझो बस्ने समस्या बढिरहेको उल्लेख गर्दै उनले यसलाई उपयोग गर्ने उपयुक्त बालीका रूपमा कफी खेतीको विस्तार गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा कफी कपिङमा उत्कृष्टता हासिल गर्ने कफी उद्यमी तथा कृषकहरूलाई नगद सहित सम्मान समेत प्रदान गरिएको छ ।







