पर्यटकीय नगरी बन्दीपुरमा सूर्ती र मदिरा नियन्त्रणसम्बन्धी सचेतना सम्पन्न

बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँको प्राविधिक सहयोगमा सूर्तिजन्य तथा मदिराजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि समन्वय बैठक, अन्तरक्रिया तथा सञ्चार कार्यक्रम हालै सम्पन्न भएको छ।

कार्यक्रममा धूमपान, मद्यपान तथा आधुनिक सूर्तिजन्य उत्पादन (भेप/ई–सिगरेट)को बढ्दो प्रयोग, त्यसबाट मानव स्वास्थ्य, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव तथा यसको नियन्त्रणका उपायबारे विस्तृत प्रस्तुति गरिएको थियो।

प्रस्तुतिमा विशेषगरी सूर्तिजन्य उद्योगहरूले बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गर्दै आकर्षक स्वाद (फ्लेभर), सुगन्ध, रंगीन तथा आकर्षक प्याकेजिङ, आधुनिक डिजाइन र भेपजस्ता उत्पादन प्रयोग गरी ग्राहक आकर्षित गर्ने रणनीति अपनाइरहेको जानकारी दिइयो।

यस्ता उत्पादनहरू स्वास्थ्यका लागि गम्भीर रूपमा हानिकारक हुने भएकाले युवापुस्तालाई सचेत रहन आग्रह गरिएको थियो।

कार्यक्रमका प्रमुख उद्देश्यहरूमा धूमपान तथा मद्यपानबाट हुने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबारे जनचेतना अभिवृद्धि गर्ने, सूर्तिजन्य तथा मदिराजन्य पदार्थको सेवन न्यूनीकरणका लागि प्रभावकारी अनुगमन गर्ने तथा पालिकाभित्र रहेका कार्यालय, संघसंस्था र सरोकारवालाबीच समन्वय गर्दै नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने रहेका थिए।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँका अमर दवाडीले सूर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी प्रस्तुति दिएका थिए। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यस अवसरमा विश्व सूर्तिजन्य पदार्थरहित दिवस को सन्देशलाई समेत प्रवाह गर्दै सूर्तिजन्य तथा निकोटिनजन्य पदार्थको प्रयोगबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा युवापुस्तालाई यस्ता लतबाट जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले सूर्तिजन्य तथा मदिराजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र समृद्ध समाज निर्माणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायहरूले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Scroll to Top