साविकको विश्व विजेता भारतलाई स्तब्ध पार्दै आयरल्याण्डले पहिलोपटक ऐतिहासिक टी-२० सिरिज जितेको छ।
बेलफास्टमा सम्पन्न दोस्रो टी-२० खेलमा भारतलाई १ रनको झिनो अन्तरले पराजित गर्दै घरेलु टोली आयरल्याण्डले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो।
भारतीय टोलीले तीन वर्षपछि पहिलोपटक टी-२० सिरिज गुमाएको छ। यसअघि सन् २०२३ मा वेस्टइन्डिजले भारतलाई ३-२ ले हराएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको मध्यम योगफल खडा गरेको थियो। आयरल्याण्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ५३ रनको महत्त्वपूर्ण योगदान दिए। बलिङतर्फ भारतका लागि डेब्यु गरिरहेका प्रिन्स यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त भएन।
१५५ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले अन्तिम ओभरसम्म कडा संघर्ष गरे पनि ९ विकेटको क्षतिमा १५३ रन मात्र बनाउन सक्यो। भारतका लागि तिलक वर्माले ५५ रनको अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याट्सम्यानहरूले उनलाई गतिलो साथ दिन सकेनन्। आयरल्याण्डका जय मुन्द्राले ३ विकेट लिँदै भारतीय मध्यक्रमलाई धरासायी बनाए र उनी ‘प्लेयर अफ द म्याच’ चुनिए।
खेलको अन्तिम ओभरमा भारतलाई जितका लागि २० रन आवश्यक थियो। ह्यारी टेक्टरको ओभरमा नो(बल र चौका प्रहार भएपछि खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो। तर, हर्षित राणा महत्त्वपूर्ण समयमा क्याच आउट हुन पुगे।
अन्तिम बलमा प्रिन्स यादवले छक्का प्रहार गरे पनि भारत लक्ष्यभन्दा मात्र १ रनले पछि रह्यो र आयरल्याण्डले ऐतिहासिक उत्सव मनाउने मौका पायो।
भारतको यो हारका पछाडि शीर्ष क्रमका ब्याट्सम्यानहरूको निरन्तर असफलता र खराब फिल्डिङ मुख्य कारण देखिएको छ।
सिरिजका दुवै खेलमा सन्जु सामसन, इशान किशन र अभिषेक शर्मा जस्ता ब्याट्सम्यानहरूले जिम्मेवार प्रदर्शन गर्न सकेनन्। दोस्रो खेलमा त सामसन र अभिषेक शून्यमै आउट भए भने कप्तान श्रेयस अय्यर मात्र १० रनमा सीमित भए। ब्याटिङ मात्र नभई फिल्डिङमा पनि भारतीय खेलाडीहरू नराम्ररी चुके।
सिरिजभरि भारतीय टोलीले कुल ६ वटा क्याच छोडेको थियो, जसले आयरल्याण्डका ब्याट्सम्यानहरूलाई जीवनदान दियो।







