बरङ्जामा कुकुर आतंकः बाख्रा मार्न थालेपछि प्रहरीद्वारा नियन्त्रण प्रयास

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा कुकुरले बाख्रा मार्न थालेपछि स्थानीय आतंकित भएका छन् ।

सातादिनमै उक्त क्षेत्रमा तीनवटा बाख्रालाई कुकुरले मारेको छ भने आधा दर्ज बढी बाख्रापाठा घाइते बनाएपछि वडाले प्रहरी गुहारेको छ ।

कार्यवाहक वडाध्यक्ष भेषकुमारीले त्यस क्षेत्रमा ३ वटा कुकुरले केही दिनयता बाख्रा मारेको र मान्छेलाई पनि टोक्ने प्रयास गरेको जानकारी दिँदै प्रहरीलाई खबर गरेको बताइन् ।

‘कुकुर हिंस्रक भएको पाइएको छ भने रेबिजको आशंका पनि गरिएको छ’ वडाध्यक्ष पुनले भनिन् ‘अहिले प्रहरी, भेटनेरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
आफ्नो कुकुरलाई बाँधेर राख्ने र छाडा देखिएको कुकुर भेटे तुरुन्त प्रहरीमा खबर गर्न निर्देश गरिएको पुनले जानकारी दिइन् ।

मरेका बाख्रालाई प्रहरीको रोहबरमा गाडीएको बताउँदै उनले अन्य वडामासमेत तीनै कुकुरले दुख दिएको बताइन् ।

पुनका अनुसार बरङ्जाका पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय र खर्सुपानी क्षेत्रमा सामुदायिक कुकुरले गाउँलेलाई त्रसित बनाइरहेको छ ।

‘खबर गरेका छौं, प्रहरीले छिट्टै नियन्त्रणमा लिने छ’ पुनले भनिन् ।

Scroll to Top