राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार निर्वाचित सदस्यमध्ये उमेरमा सबैभन्दा सानी हुन् ।
जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् ।
भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन् ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकि छन् ।
केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गरिन् ।







