फेवातालमा लगातार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जलपर्यटन व्यवसायलाई थप सुरक्षित र व्यवस्थित बनाउन कडा निर्देशन जारी गरेको छ।
मंगलबार र बुधबार मात्रै फेवातालमा डुबेर दुई युवकको ज्यान गएपछि प्रशासनले डुंगा, कायाकिङ र सफिङ (राफ्टिङ/बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो।
मंगलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो।
यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्धार टोलीले पटक–पटक उद्धार गर्दै आएका थिए। पछिल्ला घटनाले जलपर्यटन गतिविधिको सुरक्षामाथि प्रश्न उठेपछि प्रशासनले विस्तृत सुरक्षा मापदण्ड सार्वजनिक गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जलपर्यटन व्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायमा दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ। सेवा लिन आउने सबैलाई अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्ने, लाइफ ज्याकेटबिना डुंगा, कायाकिङ तथा सफिङ सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले सेवा सुरु गर्नुअघि यात्रुलाई डुंगा तथा कायाकिङ सञ्चालनको तरिका, सम्भावित जोखिम, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपाय र असुरक्षित क्षेत्रबारे जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
सञ्चालकले यात्रुको अवस्थाको निरन्तर निगरानी गर्नुपर्ने, समस्या आए तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनुपर्ने र धूमपान, मद्यपान वा लागूपदार्थ सेवन गरेका व्यक्तिलाई सेवा दिन नपाइने उल्लेख गरिएको छ।
१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना जलपर्यटन गतिविधिमा सहभागी गराउन नपाइने तथा जोखिमयुक्त क्षेत्रमा कायाकिङ वा सफिङ सञ्चालन गर्न रोक लगाइएको छ।
त्यस्तै सेवा प्रदान गर्दा अनिवार्य रूपमा बिल–विजक उपलब्ध गराउनुपर्ने, स्वीकृत संख्या भन्दा बढी यात्रु राख्न नपाइने, स्वीकृत क्षमताअनुसार न्यूनतम सोही संख्याका सेवाग्राहीको बीमा गर्नुपर्ने र दुर्घटना भए तत्काल उद्धार गरी नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ।
साथै सशस्त्र प्रहरीको फेवातालस्थित उद्धार टोली र सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले हाल कास्कीमा दैनिकजसो हावाहुरी, चट्याङ र मध्यम वर्षा भइरहेको भन्दै मौसम सामान्य रहेमा पनि दिउँसो २ बजेपछि डुंगा, कायाकिङ तथा सफिङ सञ्चालन नगर्न निर्देशन दिएको छ।
वर्षायाममा एक्कासी हावाहुरी वा पानी परेमा नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्ने र साँझ ६ बजेपछि जलपर्यटनसम्बन्धी सबै गतिविधि अनिवार्य रूपमा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।
यसका साथै व्यवसायीले वातावरणीय सरसफाइ कायम राख्नुपर्ने, पर्यटक सुरक्षामा विशेष सतर्कता अपनाउनुपर्ने र प्रशासनले तोकेका सबै सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने निर्देशन दिइएको छ।
प्रशासनले सूचनाको उल्लङ्घन गरी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।







