‘ढोरपाटन समिट’मा मेयरलाई मन्त्रीको सुझावः -‘घरका मौलिकता जीवन्त रहुन्’

ढोरपाटन नगरपालिकाको आयोजना र जीवन्त मिडिया प्रालिको समन्वयमा ढोरपाटनमा ‘प्रकृति-शिकार-संस्कृति ढोरपाटन समिट’ सुरु भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री तथा प्रवक्ता जितबहादुर शेरचनले एक कार्यक्रमकाबीच समिटको उद्घाटन गरे ।

मन्त्री शेरचनले दुई दिनसम्म संचालन हुने ढोरपाटन समिटका चार सत्रमा समूहगत छलफलबाट आउने सुझावहरूबाट ढोरपाटनको विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

गण्डकी प्रदेश सरकारले प्रदेशको समृद्धिको लागि प्रकृति, कला संस्कृति, साहित्य र पर्यटनलाई पर्यटकसँग जोडेर काम गरिरहेको जानकारी उनले दिए ।

उनले ढोरपाटनको मौलिकता बचाउन जरुरी भएको धारणासमेत राखेका छन् ।

पर्यटनमा मौलिकतालाई महत्व दिइने भन्दै उनले अब बन्ने घर भवनहरूमा मौलिकता कायम राखि निर्माण गर्न ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर कल्याण कायतलाई सुझाव दिए ।

ढोरपाटनको विकासको लागि रिंगरोड, चक्रीय पदमार्ग, बेली ब्रिज र सडकलाई प्राथमिकता दिएर अब आउने आर्थिक वर्षको बजेटमा प्राथमिकता दिएको शेरचनले उल्लेख गरे ।

बोबाङ र ढोरपाटनमा सिंचाइसहितको कृषि प्रणालीमा जोड्न बोबाङमा सिंचाइको योजनालाई यस वर्ष प्राथमिकता दिएको शेरचनको भनाई छ ।

Scroll to Top