स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।
बोर्डले असार ८ गते गरेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम भुक्तानी तथा पेश्की फर्छ्यौट गरिएको जनाएको छ ।
अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाखभन्दा बढी दाबी रकम रुजु गरिएको थियो । यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई दिइएको ४ अर्ब ३६ करोड ६९ लाखभन्दा बढी पेश्की रकम खर्चमा समायोजन गरी फर्छ्यौट गरिएको छ ।
दाबी भुक्तानी गर्दा स्वीकृत रकमको २ प्रतिशत रकम कट्टा गरी बाँकी रकम सम्बन्धित संस्थाहरूलाई पठाइएको बोर्डले जनाएको छ । यस भुक्तानीसँगै गत आर्थिक वर्ष २०८१/०८२ का सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ ।
भुक्तानी प्राप्त गर्ने प्रमुख अस्पतालहरूमध्ये भरतपुर अस्पतालले सबैभन्दा बढी ७ करोड ११ लाख प्राप्त गरेको छ । त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराले ५ करोड ४७ लाख, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले ५ करोड ३ लाख र बाकुलहर रत्ननगर अस्पताल, चितवनले ४ करोड ९७ लाख प्राप्त गरेका छन् ।
त्यस्तै वीर अस्पतालले ४ करोड ४८ लाख, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ४ करोड २१ लाख, त्रिवि शिक्षण अस्पतालले ४ करोड ४ लाख, दमक अस्पतालले ३ करोड ९६ लाख, कोशी अस्पतालले ३ करोड ३४ लाख र भेरी अस्पतालले २ करोड २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको यो भुक्तानी विवरणले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिइरहेका अस्पतालहरूको आर्थिक व्यवस्थापनमा राहत पुग्ने र बीमित नागरिकलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







