राटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिकी उम्मेदवार गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी छिन् ।
कोशी प्रदेश अधिवेशनको मतपरिणाम आउँदै गर्दा पार्टीको आन्तरिक कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी उनले रास्वपा परित्याग गर्दै सक्रिय राजनीतिबाटै विश्राम लिने घोषणा गरेकी हुन्।
सरिन गत २०८२ सालको संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएकी थिइन्। सो निर्वाचनमा उनी श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्। संसदीय निर्वाचनको सो पराजयपछि उनी रास्वपाको सङ्गठन निर्माणमा केन्द्रित हुँदै कोशी प्रदेशको कार्यवाहक सभापतिसम्म बनेकी थिइन्।
बिहीबार सम्पन्न रास्वपा कोशी प्रदेशको पहिलो अधिवेशनमा सभापति पदका लागि सरिन बलियो दाबेदार मानिएकी थिइन्। तर, मतगणनाको अन्तिम परिणाम आउँदा चन्द्रबहादुर राईले उनलाई पराजित गर्दै सभापति पदमा निर्वाचित भएका छन्।
आफू पराजित हुने निश्चित भए लगत्तै सरिनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण पोस्ट गर्दै केन्द्रका नेताहरूले ‘ह्वीप’ जारी गरेर र ‘सेटिङ प्यानल’ बनाएर आफूलाई नियतवश हराएको आरोप लगाएकी छन्। उनले पार्टीभित्रको यो आन्तरिक गुटबन्दीले आगामी दिनमा कोशी प्रदेशको सङ्गठनलाई ठूलो क्षति पुर्याउने चेतावनी समेत दिएकी छन्।







