जीएमसी र शुभलक्ष्मी सहकारीबीच सेवा शूल्कमा ‘सहुलियत सम्झौता’

गण्डकी मेडिकल कलेज (जीएमसी) पोखरा र स्याङ्जाको भीरकोट नम्बर १ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।

सहकारीका सेयर सदस्यहरूलाई विभिन्न स्वास्थ्योपचारमा छुट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतामा जीएमसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा प्राचार्य डा. रबिन्द्रप्रसाद श्रेष्ठ र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट अध्यक्ष भक्तबहादुर केसीले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार अब शुभ लक्ष्मी बचत तथा ऋण सहकारीका सेयर सदस्यहरूले मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्नेछन् ।

सहुलियत दिइने सेवाहरूमा दर्ता शुल्क, ओपिडी सेवा, प्रयोगशाला (ल्याब) परीक्षण, एक्स–रे, इसिजी, अल्ट्रासाउन्ड (युएसजी), सिटी स्क्यान, एमआरआई, बेड शुल्क र दन्त उपचार लगायतका सेवाहरू समावेश रहेका छन् ।

सहुलियत प्राप्त गर्नका लागि सेवाग्राहीले सहकारी संस्थाबाट प्रमाणित परिचयपत्र (आइडी कार्ड) वा आवश्यक भेरिफिकेसनसहित उपस्थित हुनुपर्नेछ । त्यसपछि सम्झौताअनुसार मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा तथा निर्धारित सहुलियत उपलब्ध गराउने जानकारी दिएको छ ।

जीएमसीको अनुरोधमा शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्पूर्ण सेयर सदस्यहरूलाई यस अवसरको अधिकतम लाभ लिन हार्दिक अनुरोध गरेको छ ।

Scroll to Top