पोखरा–दुबई सिधा उडान सुरु हुने, ऐतिहासिक उपलब्धि भएको मेयरको दाबी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाइदुबईले नियमित दैनिक उडान सुरु गर्ने अनुमति पाएको छ ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको यस विमानस्थलमा नियमित उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खुसी व्यक्त गरे ।

उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाइदुबईले उडानको अनुमति पाएको हो । यस खबरले सम्पूर्ण पोख्रेलीलाई उत्साहित बनाएको मेयर आचार्यले बताए ।

यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर भएको उनको भनाइ छ ।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिका लगायतका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्ने मेयर आचार्यले जानकारी दिए ।

लामो प्रयासपछि पोखरा यो अवस्थामा आइपुगेको बताउँदै उनले यस अभियानलाई सफल बनाउन सहयोग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाईसहित सम्पूर्ण टिम र सम्बन्धित निकायप्रति आभार व्यक्त गरे ।

अबको अवसरलाई दिगो सफलतामा रूपान्तरण गर्ने जिम्मेवारी सबैको भएको मेयर आचार्यले उल्लेख गरे ।

उनले सम्पूर्ण पर्यटन व्यवसायी, पोख्रेली नागरिक र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पोखरा–दुबई रुटबाट यात्रा गरी प्रारम्भिक एक महिनाको चुनौतीलाई सफल बनाउन आग्रह समेत गरे ।

उनले भने, ‘हामी सबैको साथ र विश्वासले यो उडान नियमित मात्र होइन, सदाका लागि सञ्चालन हुने सेवा बनोस् ।’

पर्यटनको राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने यस ऐतिहासिक यात्रामा सबैको साथ र शुभेच्छा रहने अपेक्षा उनले गरे ।

Scroll to Top