काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा परिचित ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार शुक्रबार राति १०:१० बजे घरायसी विवाद हुँदा कुमार थापाले श्रीमती ईश्वरीमाथि फलामको रडले गम्भीर प्रहार गरेका थिए ।
रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीमाथि रड प्रहार गरी हत्या गर्ने आरोपी कुमार थापा (नेपाली ब्रो)लाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ।
हाल उनलाई प्रहरी वृत्त बालाजुमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







