राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टिले पार्टीमा राजनीतिक पहिरो गएको छ ।
अर्थात्, पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर, पार्टी नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।
घोषणापत्रमा राप्रपाको एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको ‘हिनभाव, कमजोरी र आत्मकेन्द्रित शैली’ का कारण ती सम्भावनाहरू क्षीण भएको दाबी गरिएको छ। पार्टी नेतृत्वले केन्द्रीय कार्यसमिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन्।
पार्टीले लिएको संवैधानिक राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डाबाट नेतृत्व विचलित भएको, संगठनभित्र जवाफदेहिता र आन्तरिक लोकतन्त्र कमजोर बनेको तथा विधानविपरीत गतिविधि बढेको उनीहरूको आरोप छ। यस्ता कारणले पार्टी जनताबाट टाढिँदै गएको र पछिल्ला निर्वाचनहरूमा अपेक्षित परिणाम हासिल गर्न नसकेको दाबी घोषणापत्रमा गरिएको छ।
घोषणापत्रमा राप्रपाको वर्तमान नेतृत्वबाट सुधारको सम्भावना नदेखिएको उल्लेख गर्दै पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरिएको जनाइएको छ।
पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा पूर्वमन्त्री तथा नेता डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, प्रवक्ता सगुन सुन्दर लावती लगायतका नेता छन्। सूचीमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरू समेत रहेका छन्।







