गण्डकी प्रदेश सभाको ‘शून्य समय’मा बालेन अभिव्यक्तिको बिरोध

गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकको शून्य समयमा सभा सदस्यहरुले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमाथि विरोध जनाएका छन् ।

हालै प्रधानमन्त्री शाहले संघीय संसदमा राखेको भनाई राष्ट्रघाती र लज्जास्पद भएको भन्दै प्रदेश सभा सदस्यहरुले तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका छन्।

उनीहरूले देश गम्भीर भूराजनैतिक संकटमा रहेका बेला जिम्मेवार पदमा बसेको व्यक्तिले प्रमाणविहीन कुरा बोलेर राष्ट्रियतामाथि आँच पुर्‍याएको आरोप लगाए ।

बैठकमा रेशम जुग्जालीले संघीय संसदको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सभाले खेद प्रकट गर्नुपर्ने प्रस्ताव गरे ।

उनले ‘सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र संसद भवन जलाएर सत्तारोहण गरेको र सत्तारुढ दलका सभापति भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो अभिव्यक्ति आउनु योजनाबद्ध’ भएको बताए ।

जुग्जालीले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीले आम देशको नाममा माफी माग्न जरुरी रहेको र केही युट्युबरहरू सीमा क्षेत्रमा गएर प्रधानमन्त्रीको कुरालाई प्रमाणित गर्न लाग्नुले देश गम्भीर संकटतिर धकेलिएको संकेत गरेको बताए ।

यसैगरी लिलबहादुर थापा मगरले राष्ट्रियता नेपालीको प्राण र सान भएको उल्लेख गर्दै १७ गते प्रधानमन्त्रीबाट बोलिएको शब्दप्रति खेद प्रकट गरे । उनले गण्डकी प्रदेशले ‘एक इन्च पनि जमिन नमिचियोस्’ भनेर संकल्प प्रस्ताव ल्याउनका लागि हार्दिक अनुरोध गरे ।

सदस्य सुधीर कुमार पौडेलले प्रधानमन्त्रीको भनाइलाई लज्जास्पद र राष्ट्रघाती संज्ञा दिँदै नेपालले भारतको कुन ठाउँको जग्गा मिचेको हो त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिए । उनले ‘राष्ट्रिय झण्डा ओढेर राष्ट्रका धरोहर जलाउने शक्तिबाट अहिले जनतामाथि विश्वासघात भएको’ बताए ।

सदस्य कुसुम बुढापुनले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै त्यसलाई अविलम्ब खारेज गर्न माग गरिन् ।

दमयन्ती रुचालले प्रधानमन्त्रीले राष्ट्रलाई संकट पर्ने गरी दिएको अभिव्यक्ति अराजनीतिक भएको बताइन् । उनले ‘नेपालले अतिक्रमण गरेको क्षेत्र प्रमाणसहित देखाउन’ चुनौती दिँदै सदनबाटै नेपाली जनता समक्ष माफी माग्नुपर्ने अडान राखिन् ।

सदस्य देवका पहाडी त्रिपाठीले ‘नेपालले पनि धेरै स्थानमा भारतको जग्गा मिचेको छ’ भन्ने भनाइले नेपालीको भावनामा चोट पुर्‍याएको र प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताए ।

सदस्य सीता कुमारी सुन्दासले चुच्चे नक्सा सार्वजनिक भइसकेको अवस्थामा नेपालले भारतको भूमि मिचेको भन्नु आपत्तिजनक भएको बताइन् । यस्तो संवेदनशील विषयमा बोल्ने प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनले बताइन् ।

बैठकमा महेश भट्टराईले राज्यको आधिकारिक अडानभन्दा बाहिर गएर आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाउने बताए । उनले ३ करोड जनताको नेतृत्व गर्ने कार्यपालिका प्रमुख अझ स्पष्ट र दृढ हुनुपर्नेमा जोड दिए ।

जनसरोकारका अन्य मुद्दामा बोल्दै विन्दु पौडेलले नवलपुरका किसानले उत्पादन गरेको धान २ वर्षदेखि बिक्री नभएको समस्या राखिन् । उनले प्रदेश सरकारले उचित रेट तोकेर धानको व्यवस्थापन गर्नुपर्ने र मिल सञ्चालकहरूले आफ्नै प्रदेशको उत्पादन लिनुपर्ने नीति तय गर्न माग गरिन् ।

फणिन्द्र देवकोटाले गोरखाको दरौँदी करिडोरमा चैते धानमा पहेँलो रोग लागेर पुरै सखाप भएको जानकारी दिँदै किसानलाई क्षतिपूर्तिको प्याकेज दिन आग्रह गरे ।

यस्तै मित्रलाल बस्यालले पर्वतको महाशिला गाउँपालिकामा प्रत्येक वर्ष चट्याङ लागेर मानिसको मृत्यु भइरहेको भन्दै तत्काल अर्थिङको व्यवस्था गर्न सरकारसँग माग गरे ।

प्रकाश बरालले कास्कीको पुम्दीभुम्दीदेखि स्याङ्जाको फेदीखोलासम्मको सडक अलपत्र परेको र ५० लाख रुपैयाँ विनियोजन भए पनि मर्मत सुरु नभएकोमा ध्यानाकर्षण गराए ।

श्यामराजा महतले बजेटमा ‘एक घर एक धारा’ र सिँचाइलाई प्राथमिकता दिन आग्रह गरे । उनले अलपत्र सडक सम्पन्न गर्नुपर्ने र ‘एक वडा एक कृषि सडक’ लाई बहुवर्षीय योजनामा लैजानुपर्नेमा जोड दिए ।

नन्दकला दमै नेपालीले पोखरामा गुड्ने राइड सेयरिङमा उपभोक्ता ठगिएको गुनासो गरिन् । उनले म्यापमा १५० रुपैयाँ देखाउने स्कुटरले ३ सय र २८० देखाउने ट्याक्सीले ४ सय रुपैयाँ लिने गरेको भन्दै प्रभावकारी नियमनको माग गरिन् ।

Scroll to Top