चालु आर्थिक वर्ष सकिन अब केवल २ महिना बाँकी रहँदा गण्डकी प्रदेश सरकारले अपेक्षित बजेट रकम खर्च गर्न सकेको छैन ।
आर्थिक मामिला मन्त्रालयका अनुसार १० महिनामा गण्डकी प्रदेश सरकारको बजेट खर्च एकतिहाइ मात्र भएको छ । यसको अर्थ जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गरेको छ ।
गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको थियो ।
अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेशसभा बैठकमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट पेस गरेका थिए । तर, आर्थिक वर्षको अन्त्यतिर पुग्दा बजेट खर्च भने टिठलाग्दो देखिन्छ ।
हालसम्म चालुतर्फ विनियोजित १२ अर्ब ६३ करोड ६६ हजार ७५ रुपैयाँमध्ये चार अर्ब ८३ करोड ९० लाख मात्र खर्च भएको छ । यो भनेको कुल विनियोजनको ३८.२९ प्रतिशत हो ।
पुँजीगततर्फ सरकारले १९ अर्ब नौ करोड ३३ लाख २४ हजार विनियोजन गरेकोमा पाँच अर्ब ७४ करोड १५ लाख ८३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो भनेको ३०.०७ प्रतिशत मात्रै हो ।
वित्तीय व्यवस्थापनतर्फ सरकारले २५ करोड विनियोजन गरेको थियो । यो रकम भने कत्ति पनि खर्च भएको छैन ।
हालसम्म समग्र ३१ अर्ब ९७ करोडको बजेटमा १० अर्ब ५८ करोड रुपैयाँमात्र खर्च भएको मन्त्रालयको तथ्यांक छ ।
बजेट खर्च कम भए पनि सरकारको राजस्व संकलनको अवस्था भने करिब ६० प्रतिशत पुगेको छ ।
१२ अर्ब ४३ करोड ६ लाख कर राजस्व संकलनको लक्ष्य लिएको सरकारले हालसम्म आठ अर्ब ३३ करोड चार लाख राजस्व संकलन गरेको छ ।
तीन अर्ब १३ करोड गैरकरको लक्ष्यमा एक अर्ब ६२ करोड रुपैयाँ लाख संकलन भएको छ ।






