आइतबार बिहानै कुशल भुर्तेलको ‘रेकर्डै – रेकर्ड’

एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् ।

नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक प्रहार गर्दा हिर्काएको १६ छक्का एउटै इनिङमा नेपाली खेलाडीले बनाएको सबैभन्दा धेरै हो ।

यसअघि टी–२० क्रिकेटमा नेपालका कुशल मल्लले हिर्काएको १२ छक्काको रेकर्ड उनले तोडेका हुन् ।

बाउन्डी रनको कुशल मल्लकै रेकर्डसमेत कुशल भुर्तेलले तोडेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले ११६ रन चौका र छक्काबाट मात्र बनाए । यसअघि मल्लले एउटै इनिङमा चौका र छक्काबाट अर्थात् बाउन्डी हानेर मात्र १०४ रनको रेकर्ड कायम गरेका थिए ।

टी–२० मा सर्वाधिक छक्काको रेकर्डसमेत भुर्तेलले तोडेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीको नाममा रहेको ८९ छक्काको रेकर्ड तोड्दै भुर्तेलले टी–२० मा ९९ छक्का प्रहार गर्ने नेपाली खेलाडीका रुपमा नयाँ रेकर्ड बनाएका हुन् ।

यसैगरी भुर्तेलले यसअघि एउटै ओभरका ६ बलमा छ छक्का हानेर दीपेन्द्रले नै बनाएको रेकर्डसमेत बराबरी गरेका छन् । उनले चीनविरुद्ध नवौं ओभरमा ६ बलमा ६ छक्का हिर्काएका हुन् ।

टी–२० को एउटै इनिङमा नेपालले सर्वाधिक छक्काको रेकर्डसमेत बनाएको छ । चीनविरुद्धको खेलमा नेपालले २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको रेकर्ड बनाएको हो ।

नेपालले चीनविरुद्ध मात्र दुई विकेट गुमाएर ३१३ रन बनाउँदै सर्वाधिक ठूलो रनको चुनौतीको रेकर्डसमेत बनाएको छ ।

Scroll to Top