पुतलीबजारका विप्लवसहित तीन जनालाई भ्रष्टाचार आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगले विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२-सिआर-०१२० मा सरकारी साक्षी रहेका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले अदालतमा अनुसन्धानका क्रममा दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको हो ।

आयोगका अनुसार प्रतिवादी ढुण्डिराज दाहालविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेका कारण ती तीन जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर उनीहरूले विसं २०८३ वैशाख २५ गते विशेष अदालत काठमाडौंमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत अभिव्यक्ति दिएको आयोगको ठहर छ ।

आयोगले भुक्तानी प्रक्रियामा सहजीकरणका लागि विप्लव पोख्रेलले आरएसभी मेटलका तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालका तर्फबाट २९ हजार रुपैयाँ गरी कुल ५६ हजार ३५० रुपैयाँ घुस दिएको जनाएको छ ।

त्यस्तै प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिजसमेतका तर्फबाट ३७ हजार ५०० रुपैयाँ र राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ घुस दिएको आरोप लगाइएको छ ।

आयोगका अनुसार तीन जनाले कुल ९३ हजार ८५० रुपैयाँ घुस/रिसवत दिएको कार्य पुष्टि भएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिम कसुर कायम गरी आरोपपत्र दायर गरिएको हो ।

आरोपपत्रअनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका विप्लव पोख्रेलविरुद्ध ५६ हजार ३५० रुपैयाँ बिगो कायम गरिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका प्रल्हाद गौतमविरुद्ध ३७ हजार ५०० रुपैयाँ र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो जफतको मागदाबी गरिएको आयोगले जनाएको छ ।

Scroll to Top