पोखरा महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको संरक्षण गर्ने अभिप्रायले आइतबारदेखि खोलाघरमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
डोजर चलाउनु अघि सार्वजनिक सूचना दिँदै मेयर धनराज आचार्यले फुट ट्रेल, साइकल लेन, मर्निङ तथा इभिनिङ वाक र पैदल यात्राको आकर्षक गन्तव्यका रूपमा विकास गरिने योजना सुनाएका छन् ।
मेयर आचार्यले शेयर गरेको एआई सिर्जित तस्बिर अनुसार उनलाई सल्लाहकार समूहले उक्त आइडिया दिएको हो । जसले उत्तर दक्षिण मोटरेबल सडकको योजनालाई पन्छाएको छ ।।
पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए ।
‘फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ । खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,’ आचार्यले भने ।
करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ ।
‘फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ । यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,’ आचार्यले भनेका छन् ।
फिर्केको खोलाघर खाली गरेपछि महानगरले ८ किलोमिटर लामो फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ ।
यसर्थ, फिर्केको किनारलाई खाली गरेपनि तत्काल उल्लेखित शैलीमा निर्माण कार्य भने अघि बढ्ने छैन । दीर्घकालीन योजनाकारुपमा आगामी दिनमा क्रमिक निर्माण गर्दै जाने लक्ष्य हो ।
कोरियन मोडलमा सुरु गरिने भनिए पनि तत्काल फिर्केलाई नयाँ स्वरुपमा लैजान दातृ निकायबाट अनुदान ऋण पाउन बाँकी नै छ । त्यस्तै, वर्तमान मेयरको कार्यकाल सकिनै लागेकाबेला तस्बिरमा देखिएजस्तो फिर्केको आवरण हाललाई ‘सम्झने, पानी छम्कने’मात्रै हो ।
यद्यपि, मेयर आचार्यको कार्यकालमा फिर्केका संरचना हटेपछि अब आउने मेयरलाई स्वतः दबाब भने पर्नेछ । र, फिर्के साँच्चै यस्तै बन्यो भने त्यसको श्रेय पाउनेमा मेयर आचार्य पहिलो नम्बरमा पर्नेछन् ।







