नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले काठमाडौँ बाहिर पहिलोपटक पोखरामा ‘नवजात शिशु पुनर्जीवन’ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
‘आशा’ जापानको एनसीपीआरसँगको प्राविधिक सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो।
दुई दिनसम्म सञ्चालित सो विशेष प्रशिक्षण कार्यक्रममा ६ जना ‘मास्टर ट्रेनर’ (मुख्य प्रशिक्षक) हरूले प्रशिक्षण दिएका थिए। तालिममा गण्डकी प्रदेश र आसपासका क्षेत्रका २४ जना बालरोग विशेषज्ञ, रेजिडेन्ट चिकित्सक तथा नर्सहरूको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य जन्मनासाथ श्वासप्रश्वासमा समस्या भएका नवजात शिशुलाई बचाउन स्वास्थ्यकर्मीहरूको सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई आधुनिक प्रविधि र विधिमार्फत शिशुको पुनर्जीवनका प्रक्रियाबारे व्यावहारिक अभ्यास गराइएको थियो।
यसैबीच, यो पाठ्यक्रमलाई आधिकारिक रूपमा मान्यता दिलाउने प्रक्रिया अघि बढाउन नेपासले पहल थालेको छ।
यस सम्बन्धमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र परिवार कल्याण महाशाखाका निर्देशकहरूसँग प्रारम्भिक छलफल समेत भइसकेको जानकारी दिइएको छ।
काठमाडौँ केन्द्रित यस्ता तालिमहरूलाई मोफसलमा विस्तार गर्दा नवजात शिशु मृत्युदर घटाउन ठूलो मद्दत पुग्ने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्।







