नेपाल मेडिकल काउन्सिल वा नेपाल आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले आफ्नो नामको अगाडि ‘डाक्टर’ वा ‘फिजिसियन’ लेखेमा अब कानुनी कारबाही भोग्नुपर्ने भएको छ।
दुबै काउन्सिलले अनाधिकृत रूपमा यी पदवी प्रयोग गर्नेहरू विरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाउने घोषणा गरेका छन्।
काउन्सिलले एक सूचना जारी गर्दै गैरकानुनी रूपमा डाक्टर पदवी प्रयोग गरिरहेका स्वास्थ्यकर्मी वा अन्य जोकोही व्यक्तिलाई आगामी १५ दिनभित्र त्यस्ता उपाधिहरू हटाउन निर्देशन दिएको छ।
निर्देशन अनुसार, अनाधिकृत रूपमा प्रयोग गरिएका ‘डाक्टर’ वा ‘फिजिसियन’ शब्दहरू निम्न ठाउँबाट हटाउनुपर्नेछ:
– अस्पताल वा क्लिनिकका साइनबोर्डहरू
– बिरामी जाँच्ने पुर्जी
– सामाजिक सञ्जालहरू (जस्तै: टिकटक, फेसबुक र इन्स्टाग्राम)
काउन्सिलका अनुसार, निर्धारित १५ दिनको समयसीमाभित्र पदवी नहटाएमा र काउन्सिलमा दर्ता नभई डाक्टरको रूपमा परिचय दिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै व्यक्तिहरूले विना अनुमति डाक्टरको पहिचान दिँदै स्वास्थ्य परामर्श दिने गरेको पाइएपछि काउन्सिलले यो कदम चालेको हो।







