नेपाली कांग्रेस, गण्डकी प्र्रदेशले आज पोखरामा पत्रकारसँग भेटघाट गरी पार्टीमा भइरहेका पछिल्ला गतिविधि र शंका उपशंकाबारे प्रष्ट्याउने प्रयास गरेको छ ।
पार्टीको प्रदेश भेला भनिएपनि कार्यक्रमको अध्यक्षता प्रदेश उपसभापति मेखलाल श्रेष्ठले गरेका थिए भने मुल वक्ता पुष्प पराजुली रहेका थिए । संयोगले दुबैको ठेगाना तनहुँ हो ।
पराजुली निवर्तमान केन्द्रिय सदस्य हुन् । उनै पराजुलीले सभापति गगन थापाको शैली र नेतृत्वबारे विभिन्न प्रश्न राख्दै गुनासोसमेत राखे ।
पछिल्लो समय पार्टीमा सभापति थापाले मनोमानी ढंगले जिम्मेवारी सुम्पिएको भन्दै यसले पार्टीभित्र फुटको स्थिति ल्र्याको उल्लेख गरे ।
‘अघिल्लो महाधिवेशनमा सदस्यता नवीकरण र अद्यावधिक गरिएको जगजाहेर छ’ पराजुलीले भने ‘अहिले फेरी केही महिनामै जरा अभियानका नाममा नवीकरण गनुपर्ने काम न्यायसंगत छैन ।’
पराजुलीका अनुसार आगामी महाधिवेशनभित्र सदस्यहरुले सदस्यता नवीकरण गर्ने पद्दतिलाई कुल्चिएर पार्टी विभाजन गर्न खोजिदैँछ ।
बजारमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रहिसकेका नेता पुर्णबहादुर खड्काको नेतृत्वमा पार्टी फुट्न लागेको भन्ने हल्लालाई पराजुलीले निराधार भनेका छन् ।
‘चुनाव चिन्ह शंख लिएर नयाँ कांग्रेस जन्माइँदैछ भन्ने चर्चा छ, त्यो पुर्णतः गलत हो’ पराजुलीले भनेका छन् ‘पार्टी सञ्चालनको पद्दति गलत छ, यद्यपि पार्टी फुट्ने छैन ।’
त्यस्तै, सरकारको प्रतिपक्षकारुपमा कांग्रेसले सशक्त भूमिका निभाउन नसकेको बताउँदै उनले सरकार निरंकुशरुपमा अघि बढ्दा कांग्रेस लाचार देखिएको टिप्पणी गरे ।
साथै, सुकुम्बासीको पक्षमा कांग्रस सभापतिले आवाज नउठाएको भन्दै पराजुलीले उनीहरुलाई व्यवस्थापन नगरी कहिँ, कतैबाट उठाउन नपाइने उल्लेख गरे ।
भेलामा गुरु बराललगायतका नेता सहभागी भएपनि प्रदेश अध्यक्षलगायत कार्यसमितिका बहुमत सदस्यहरुको अनुपस्थितिले गण्डकीमा पार्टीका २ खेमा सक्रिय रहेको स्पष्ट पारेको छ ।







